पुरन रौनियार
जनकपुरधाम, असार १० : विगत ३० वर्ष देखि अमेरिकाको टयाक्ससमा बस्दै आएका रौतहट राजदेवी नगरपालिका वडा नं. ६ कटरबन निवासी डा. सुवोध मल्लिक अमेरिकाका लागि पनि अव समान्य व्यक्ति होइनन् । आफनो पेशा प्रति प्रतिवद्व र प्रतिभावान उनी काम गर्ने अस्पतालमा पनि एक कुशल चिकित्सवको छवि बनाइसकेका छन् । ईन्टरनल मेडिसिनमा एमडी सम्मको अध्यन्न गर्दै उनी विगत २५ वर्ष देखि सबैको सपना मानिने युएसएको टेक्सासमा चिकित्सा पेशामा आवद्व रहदै पेशागत र आर्थिक सम्पन्नता समेत हासिल गरिसकेको भएपनि उनको सपनाहरु अझै वाँकी नै छ ।
उनको सपना छ, ‘म जन्मेको मेरो धर्तीको बच्चाहरु म जस्तै पढेर सफल र सार्थक बनोस ।’ मेरो गाँउ हराभरा, स्वच्छ र सफा होस, विकासित, शिक्षित र आधुनिक पनि होस उनले थपे । यस्तै सपनाहरु सहित डा. सुवोध पाँच दिवसीय नेपाल र खास गरि आफनो गाँउ भ्रमणमा आएका छन् । गाँउ स्थित हाल साढे चार कठ्ठा जमिनमा रहेको श्री प्राथमिक विद्यालय कटरबनमा थप अढाई कठ्ठा जमिन थपेर उनले कुल ७ कठ्ठा क्षेत्रफलमा सो विद्यालयलाई उच्च माविमा विस्तार गर्ने अठोट लिएका छन् ।

उनले यो कार्य आफना समाजसेवी पिता स्व. विरेन्द्र कुमार मल्लिकको नामा स्थापना गरेको विरेन्द्र कुमार मल्लिक फाउन्डेशनको तात्वाधानमा गर्न लागेका हुन । सात कठ्ठा क्षेत्रफलमा प्रा.वि, नि.मा.वि र मा.वि. र प्रशासनको गरि कुल चारवटा छुट्टाछुट्टै भवन निर्माण कार्यमा फाउन्डेशनका अन्य दुई सदस्य उनकी दिदी रेखा मल्लिक कर्ण र दाजु सतिश मल्लिकको पनि लगानी र सहयोग रहने छ । उनीहरु आ आफनो पेशा र क्षेत्रमा सफल व्यक्तिहरु हुन
आफनो पैतृक गाँउ र बुवाले बाल्यकालमा शिक्षारम्भ गरेको विद्यालयको विकास र विस्तारको शुभारम्भ उनले आइतवारनै गरेका छन् । नेपालका पुर्व प्रधानमन्त्री तथा उनको पिताको साथी पनि रहेका नेकपा एस अध्यक्ष माधव कुमार नेपाल, माता श्यामकला मल्लिकको विशेष उपस्थितीमा डा. सुवोधले विद्यालय भवनको शिलान्यास गरेका छन् । पुर्व प्रधानमन्त्री नेपालले स्व.मल्लिकलाई स्मरण गर्दै उनको समाजसेवा र रौतहटको विकासमा खेलेको भुमिकाको प्रशंसा गरेका थिए ।

मलाई देखाएर मेरो अगुवाईमा रौतहट विकास गुठीको स्थापना गरि भित्रभित्रै उहाँ मल्लिक जी र प्रधानन्यायधिश समेत रहिसक्नु भएका स्व. सुरेन्द्र प्रसाद सिंहले सबै काम गर्नु हुन्थ्यो नेपालले भने, ‘हामी उहाँहरुको प्रयासमा संगै कलकता गएर काठको पाँचवटा काठको पुल किनेर ल्याएको र जनताको आवागमनमा सहजता दिलाएको म अझै सम्झिन्छु ।’ नेपालले स्व. मल्लिकका तिनजनै छोराछोरीहरुले बुवा पढेको विद्यालयमा गर्न लागेको लगानीको प्रशंसा गरेका छन् ।
समय समयमा गाँउमा आएर जनताको सेवा र परोपकारका कामहरु जस्तै कम्वल वितरण, सरसफाई समाग्री वितरण, राहत वितरण, वृक्षारोपण सहितकामा सक्रिय हुने गरेका डा. सुवोध हालको आगमणमा पनि गाँउको समाजका लागि एक बगैचा बनाउने काम अगाडि बढाई सकेका छन् । गाँउको आफनो पैतृक घर छेउमै पक्की वालको सुरक्षा सहित आफनो जग्गामा विभिन्न फलफुलको वृक्षारोपण गरेका उनले बगैचाँमा फुल्ने फल्ने फलहरु गाँउवासीले प्रयोग गर्ने गरि समाजकै लागि रहने बताए ।

एति मात्र होइन उनको हालको छोटो नेपाल आगमणमा उनले एक महत्वकांक्षी योजना समेत सुनाएका छन जो जस्ले उनको गाँउ मात्र होइन, यो मधेश प्रदेश र समुचा नेपालनै लाभान्वित हुनेछ । उनले आफु नेपालको पुर्व मेची देखि पश्चिम महाकाली सम्मका राजमार्गहरुमा एक सय किलोमिटरको अन्तरालमा ट्रामा सेन्टरहरुको स्थापना गर्ने योजना सुनाएका छन् । ति प्रत्येक सेन्टरमा एम्बुलेन्स सेवा राखेर कुनै पनि नेपालीको दुर्घटनामा परि अनायासै ज्यान नजाओस भन्ने उद्देश्यका साथ आफु तयारी थालेको र कसैले सहयोग नगरेपनि आफनो व्यक्तिगत लगानीमा सो परियोजना सम्पन्न गर्ने अठोट लिएका छन् र गृहकार्य थालिसकेका छन् ।
अमेरिकाको टयाक्ससमा वार्ड मेमोरियल हस्पिटल र आफनै मल्लिक मेडिकल क्लिनीकमा सेवारत उनको अनुभव र ख्यातिका कारण उनीसंग कुनै पनि अभाव छैन । तर ५६ वर्षिय डा. सुवोध अव आफनो देश, मधेश र जन्मधर्तीको सेवा गरेर वाँकी जिवन व्यतित गर्न लालायित देखिन्छन् ।

डा. सुवोध सो विद्यालयकै अगाडि रहेको प्रसिद्व स्थानिय राजदेवी माताको मन्दिरमा दर्शन र आर्शिवाद ग्रहण गर्दै विद्यालय भवन निर्माणको शिलान्यास गरेका छन् । सो अवसरमा गौर नगरपालिकाका मेयर शम्भु साह, राजदेवी नगरपालिकाका मेयर खोभारी यादव सहित, समाजका अगुवा र भद्रभलादमीको उपस्थिती थियो ।





