एसपी रिपोर्टर

जनकपुरधाम, असार १० :

नेपाल सरकारले आलु प्याजमा समेत मूल्य अभिवृद्धि कर लगाए लगत्तै जनकपुरधामका आलु प्याज व्यापारीहरु आन्दोलित भएका छन् । आर्थिक वर्ष २०८०÷०८१को बजेट मार्फच मूल्य अभिवृद्धि कर लगाएपछि आलु प्याजका व्यापारी आन्दोलित भएका हुन् । व्यापारीहरु सरकारले तरकारीमा कर लगाएर हामीमाथी अन्याय गरेको भन्दै आलु र प्याजको बिक्री नै ठप्प पारेका हुन् ।

सरकारको यो नितिले हामीले व्यापार गर्ने वातावरण नै नरहेकाले बिक्री वितरण नै बन्द गर्नु परेको आलु प्याज व्यवसायी संघ जनकपुरधामका अध्यक्ष अलाउद्दिन राइनले बताए । उनका अनुसार भारतबाट आलु प्याजको आयात समेत अहिले ठप्प भएको छ । जबकि आलु प्याजको व्यापार जनकपुरधाममा भारतबाटै आयात हुने आलु प्याजले धानिरहेको थियो ।

‘बजेटपछि जेठ १६, १७ र १८ गते भारतबाट प्याज आएको थियो, तर त्यसपछि आयात नै भएको भएको छैन ।’

सरकारले भ्याट लगाएपछि व्यापार गर्न कठिनाइ भइरहेको बताउँदै उनले प्याजमा प्रतिकिलो १३ र आलुमा प्रतिकिलो ८ रूपैयाँ भन्सार तिर्न परिरहेको गुनासो गरे । भ्याट लागेपछि दुई÷चार ट्रक आलु प्याज मगाएपनि आधा मात्र बिक्री भएको र आधा गोदाममै सँडेको उनको दुःखेसो छ ।

ग्राहकहरू सिमानाकास्थित भारतीय बजार जान थालेपछि व्यापार चौपट भएको र यहाँका व्यापारीहरू लाखौंको घाटामा गएको उनले बताए ।

उनले सरकारसँग आलु प्याजलगायत तरकारी र फलफूलमा लगाइएको भ्याट खारेज गर्न र खुला सिमानाकालाई नियन्त्रण गर्न माग गरेका छन् ।

आफूहरूले बिक्री वितरण ठप्प गर्दा ग्राहकमा पर्न गएको असुविधा र यसबाट सिर्जित समस्याको जिम्मेबार नेपाल सरकार हुने बताए ।

जनकपुरधाममा दैनिक २ हजार बोरा आलु र १ हजार बोरा प्याजको खपत रहेको छ । जबकि जनकपुरधाममा १५ जना आलु प्याजको थोक बिक्रेता रहेका छन् ।

अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटमार्फत तरकारी तथा फलफूलसहित १७० वस्तुको आयातमा मूल्य अभिवृद्धि कर लगाउने घोषणा गरेका थिए ।