एसपी रिपोर्टर
जनकपुरधाम, असार ८ :
मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री वीरेन्द्र सिंहले आफै विरामी रहेको अस्पतालले विरामीलाई उपचार र स्वस्थ्य पार्न नसक्ने बताएका छन् । जनकपुरमा शुक्रबार वाग्मती सेवा समाजले आयोजना गरेको समीक्षा कार्यक्रममा मन्त्री सिंहले जिल्ला तहमा रहेको प्रादेशिक अस्पतालमा लगानीअनुसार सेवा सर्वसाधारणले पाउन नसकेको भन्दै प्रदेशमा पहिले अस्पतालको उपचार अनिमात्रै बिरामीको उपचार हुने अवस्था रहेको बताए । बिरामी उपचार गर्ने सरकारी अस्पतालहरु नै बिरामी अवस्थामा रहेको उनको तर्क छ ।

सबै स्रोत साधन भएका अस्पतालसमेत चुस्त व्यवस्थापन नहुँदा भद्रगोल भएको बताए । अस्पतालमा चिकित्सक भए उपकरण छैन । उपकरण र चिकित्सक भएको अस्पतामा भौतिक संरचना छैन । सबै साधन श्रोत भएको अस्पतालमा व्यवस्थापन अभावमा भद्रगोल उनले भने । प्रदेशको सरकारी अस्पतालहरुमा स्वास्थ्यकर्मी, उपकरण, भौतिक संरचना र व्यवस्थापनबीच तालमेल नमिलेको उनको भनाइ थियो । सबै पक्ष एकजुट भएर अगाडि बढेमात्र समस्या समाधान हुन्छ ।

प्रादेशिक अस्पतालका निर्देशक डा. रामनरेश पण्डितले उपकरण जनशक्तिको अभावमा लथालिङ्ग रहेको भन्दै उपकरणको सदुपयोग गर्न पहिला केन्द्रित हुनुपर्ने र जनशक्ति तथा प्राविधिकहरुको पदपुर्ती गर्नुपर्ने बताएका थिए । मधेश प्रदेश समृद्धिको आधार स्वास्थ्य सेवा नै रहेकोले सर्वसाधारणको स्वास्थ्य उपचार प्राथमिकतामा राखेर सरकारले अस्पताल सुधार्ने योजना बनाउने उनले जनाए ।

नकारात्मक सोच हाबी हुँदा मधेश प्रदेशकै स्वास्थ्य सेवा र अन्य विकास पछाडि परेको उल्लेख गर्दै स्वास्थ्य सेवा सुधार्न गैर सरकारी संस्थाहरुले गरेको प्रयासको उनले प्रशंसा गरे । अस्ट्रेलियाली सरकार तथा आड्रा इन्टरनेशनलको सहयोग, आड्रा नेपालको प्राविधिक सहयोगमा सञ्चालन गरेको महिला स्वास्थ्य तथा प्रणाली सुदृढीकरण परियोजनाअर्न्तगत सघन प्रकृतिका पाठेघर खस्ने समस्या भएका विपन्न ३१५ महिलाको नि:शुल्क शल्यक्रियाका लागि सहयोग गरिएको वाग्मती सेवा समाजका निर्देशक निरज भण्डारीले बताए ।

उनका अनुसार परियोजनाअर्न्तगत गरिब, विपन्न, दलित, पिछडिएका बस्तीका १३ हजार ५२६ सेवाग्राही लाभान्वित भएका छन् । सर्लाही बरहथवा वडा नं. १६ हजार बिघ्घाकी ५५ वर्षिय सुकमाया आलेले आफु आङ्ग खस्ने समस्याबाट वर्षौ देखि पिडित रहेको र परियोजनाद्वारा निशुल्क शाल्यक्रिया गरिएपछि राहत महशुस गरिरहेको बताइन ।

परियोजनाअर्न्तगत पाठेघर खस्ने समस्या, पाठेघरको मुखमा क्यान्सर तथा लैंगिक हिंसासम्बन्धी समस्या, कोभिडको समयमा खोप केन्द्रसम्म पुग्न नभएकाहरुका लागि घुम्ती खोप सेवा परिचालन, विद्यालयका छात्रछात्रालाई च्याम्पियनको रुपमा नेतृत्व विकासका लागि क्षमता वृद्धि र नि:शुल्क प्रजनन स्वास्थ्य शिविरहरु सञ्चालन गरिएको भण्डारीले बताए ।