एसपी रिपोर्टर

जनकपुरधाम, असार ७ :

रवि लामिक्षाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी पार्टी (रास्वपा)का मधेश प्रदेश समितिले संघीयता र नागरिकता विधेयकको विषयमा प्रष्टीकरण दिएको छ । विहीबार जनकपुरधाममा वार्षिक उत्सवको अवसरमा आयोजित चियापान कार्यक्रममा सो प्रष्टीकरण दिइएको हो ।

मधेश प्रदेश समितिका सभापति इन्जिनियर तपेश्वर यादवले रास्वपा संघीयता र नागरिकता विधेयकको विरोध नगरेको बताएका छन् । उनले प्रदेशमा सांसदको संख्या घटाउनु पर्ने र प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री हुनुपर्ने रास्वपाको माग गरेको जिकिर गरे । ‘हामीले संघीयताको विरोध गरेका छनौं । संघीयताको नाममा भइरहेको फजुल खर्च रोक्नुपर्ने भनेका छौं,’उनले भने,‘केही सांसदको संख्या घटाउनु पर्छ र प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री हुनु पर्ने हाम्रो एजेण्डा हो ।’

यस्तै उनले नागरिकता विधेयकको पनि विरोध नगरेको दोह¥याए । देशमा विधिको साशन हुनुपर्ने उनको भनई छ । संसद हुँदा हुँदै संसदमा प्रवेश नै नगरीकन अघिल्लो सरकारले पास गरेको नागरिकता विधेयक प्रमाणिकरण गराउनु गल्त रहेको उनले बताए । जन्मसिद्ध नागरिकले नागरिकता पाउनु पर्ने रास्वपाको पनि माग रहेको उनको दावी छ ।

रास्वपा मधेश प्रदेशका महामन्त्री मनिष कुमार साहले पार्टीलाई कमजोर बनाउन मधेशमा विभिन्न भ्रम फैलाइएको बताए । पार्टीको उत्साह देखेर मधेशकै पार्टीहरुले सो भ्रम फैलाइएको उनको कथन छ । पार्टीले अगामी निर्वाचनमा तीनै तहमा उम्मेदवारी दिने उनले बताए । रास्वपामा लागेका ९० प्रतिशत सदस्य दक्ष एवं साक्षर रहेको धनुषा संयोज जयप्रकाश महतोले बताए । रास्वापा नयाँ उर्जा र नयाँ संकल्पको साथ अगाडि बढिरहेको उनले बताए ।