पुरन रौनियार
जनकपुरधाम, असार ७ :
जनकपुर भनेकै जानकी मन्दिर हो भन्दा फरक नपर्ला । जानकी मन्दिर बिनाको जनकपुरधाम कल्पना गर्न सकिदैन । तर करिव सावा सय वर्ष पहिला ९ लाखको लागतमा बनाइएको नेपाल मात्र होइन भारत र बिश्वलाई आकर्षित गर्ने यो मन्दिर अझै बिश्व सम्पदा सुचिमा पर्न नसक्नु दुःखद छ । युनेस्कोको सुचिमा किन पर्न सकिरहेको छैन यो मन्दिर ?

भारत मध्य प्रदेश स्थित टिकमगढकी राजकुमारी वृषभानु कुँवरीले ९ लाख चाँदीका असर्फी खर्चेर निर्माण गराएको मन्दिर भएकाले जानकी मन्दिरलाई नौलख्खा मन्दिर पनि भनिन्छ । सन् १८९४ मा शिलान्यास भई सन् १९११ मा निर्माण पूरा भएको यो मन्दिर नेपालकै सबै भन्दा ठुलो र बिशाल पनि मानिन्छ । हाल मधेशको राजधानी भएपनि जनकपुरधाम पुग्नै पर्ने एक प्रमुख कारण खोज्दा जानकी मन्दिरको नाउँ पहिलो नम्वरमा आउँछ ।

अति मनमोहक र कलात्मक यो मन्दिर अझै पनि बिश्व सम्पदा सुचिमा पर्न सकेको छैन । यस बारेमा हामि बुझने प्रयास गर्दा सन २०१४ देखि एक दशक सम्म फाइल सहित यस मन्दिरलाई बिश्व सम्पदा सुचिमा पार्न अभियान लचाएका तत्कालिन भोर नामक संस्थाका अध्यक्ष तथा हाल सर्लाही चन्द्रनगर गाँउपालिकाका प्रमुख राजकुमार महतोले सो कार्यका लागि जनकपुरधामका मेयरहरु, स्वयम मन्दिरका महन्थ र गुठी संस्थान समेत इच्छुक नरहेको आफुले पाएको बताउछन् ।

प्रमुख महतोका अनुसार पुरातत्व विभाग भने मन्दिरलाई सुचिमा पार्न एकदमै इच्छुक छ । मन्दिर बिश्व सम्पदा सुचिमा जानुपर्छ भन्ने विषयको उठान दशकौ दशक अगाडि देखि उठने गरेको भएपनि सम्भव हुन सकेको छैन । भर्खरै मात्र संघिय सरकारले आफनो निति तथा कार्यक्रममा पुनः मन्दिरलाई बिश्व सम्पदा सुचिमा पुरयाउने घोषणा गरेको छ तर यो सम्भव हुनेमा अझै जनकपुरधामका अगुवा बिश्वस्त छैनन ।

तस्वीर : पुरन रौनियार

सरकारले घोषणा गर्छ तर त्याँहा पुग्न स्थानिय, प्रदेश र संघिय सरकारले गर्नुपर्ने प्राविधिक काम हुनु परेन ? प्रश्न गर्दै उनीहरु कुनै अभियानी वा संस्थाले गर्न चाहे उनीहरुलाई पनि भगाउने काम भएको उनीहरुको आरोप छ । मन्दिर बिश्व सम्पदामा दर्ज हुनु जनकपुरधामवासी मात्र होइन नेपाल भारतमा पर्ने रामायणकालिन समग्र अवध र मिथिलावासीकै लागि गौरवको विषय हुन्छ तर स्वयम मन्दिरका महन्थ र यसअघिका जनकपुरधामका मेयरहरु समेत यस प्रति ईच्छुक र उत्सुक नरहेको र उनीहरुको मनमा खोट रहेको शंका आमजनमानसमा छ ।

तस्वीर : पुरन रौनियार

यस विषयमा हामी मन्दिरका सहायक महन्थ रामरोशन दास र जनकपुरधामका वर्तमान मेयर मनोज कुमार साहलाई जिज्ञासा राख्दा उनीहरुले संघिय सरकारको निति तथा कार्यक्रम र बजेटमा जानकी मन्दिर पर्नु सुखद रहेको बताउदै कार्यान्वय मुख्य कुरा हुने बताउदै आफुहरुको सहयोग रहने बताँए ।

हामि बुझदै जाँदा जानकारहरुका अनुसार जानकी मन्दिरलाई बिश्व सम्पदा सुचिमा लान तपसिल बमोजिमका चार मुख्य प्रशासनिक र प्राविधिक कामहरु गर्न वाँकी छ :

१. जनकपुरधाम उपमहानगरपालिकाको नेतृत्वमा जानकी मन्दिर, मधेश सरकार, वृहतर जनकपुरधाम क्षेत्र विकास परिषद, जिल्ला प्रशासन र प्रहरीका साथै अभियानीहरु सम्मिलत एक अभियानरुपी समुह बनाएर काम अगाडि बढाउनु पर्दछ ।

२. स्थानिय र प्रदेश सरकारको मातहतमा रहने गर एक विज्ञ फोकल पर्सन सहित विषयगत वा पुरातत्व संग सम्बन्धित एक शाखा स्थापना आवश्यक छ ।

३.जानकी मन्दिर सहित के कति भु–भागलाई सुचिमा लाने भन्ने एकिन गरि त्यसको चौतर्फी सिमा तोक्न आवश्यक छ । र

४. युनेस्कोको नयाँ प्रावधान अनुसार बिश्व सम्पदा सुचिमा लान चाहने भु–भागलाई संरक्षित क्षेत्र ( प्रोटेक्टेड मनुमेन्ट जोन) घोषणा गरिनु पर्दछ ।

तस्वीर : पुरन रौनियार

एति काम भइसकेपछि मात्र आधिकारिक निकाय नेपाल सरकारको पुरातत्व विभाग वाँकी कामका लागि नोमिनेसन फाइल तयार गर्न पाउने छ जस्मा सबै क्षेत्रको विज्ञहरुको खाँचो पर्दछ । माथीका कामहरु आजकै मिति देखि युद्वस्तरमा सुरु गर्दा पनि सम्पुर्ण काम गर्न कम्तिमा तिन वर्ष लाग्ने अभियानी महतो बताउछन् । त्यसपछि मात्र नोमिनेसन फाइल नेपालको युनेस्को मार्फत फ्रान्स स्थित युनेस्कोको कार्यलयमा पुगेर अनुसन्धानको काम सुरु हुनेछ ।