एसपी रिपोर्टर
जनकपुरधाम, असार ३ :
हंसपुर नगरपालिकाका आदिवासी जनजातीहरुले पाउनु पर्ने सेवा सुविधा उपलब्ध गराउन आदिवासी जनजाती महासंघ हँसपुर नगरपालिकाले माग गरेको छ ।
महासंघले हँसपुर नगरपालिकाका नगरप्रमुख प्रदीपकुमार यादवलाई ज्ञापन पत्र बुझाउँदै आदिवासी जनजातीमा सूचिकृति जातीले नगरपालिकाबाट पाउनुपर्ने सेवा सुविधा उपलब्ध गराउन माग गरेका हुन् ।
आदिवासी जनजाती महासन्धीको नेपाल पक्ष राष्ट्र रहेको र सोको सिफारिश राष्ट्रिय मानव अधिकार आयोगले समेत गरेको अवस्थामा हँसपुर नगरपालिकाले पालन नगरेको आरोप आदिवासी जनजाती महासंघ हँसपुरका अध्यक्ष राम उदेश मण्डलले आरोप लगाए ।
आदिवासी जनजातीहरुसंगै पुगेका हँसपुरका पूर्व नगरप्रमुख रामज्ञान मण्डलले नगरको अहिलेको अभिभावक हामीले पाउनुपर्ने सेवा सुविधाबाट बञ्चित गरेकाले अधिकार खोसेर लिनका लागि ज्ञापन पत्र बुझाएको बताए ।
ज्ञापन पत्र बुझाउँदै आदिवासी जनजातीका नेता रुपनारायण मण्डलले यस विषयमा नगरपालिकाको कार्यपालिकाको बैठकबाट निर्णय हुँदाहुँदै सेवाबाट बञ्चित गरिएकोमा दुःख व्यक्त गरे । आफूहरुले पटक पटक लिखित तथा मौखिक रुपमा माग गरेपनि वर्तमान नगरप्रमुख आलटाल गरेको आरोप लगाए ।
ज्ञापन पत्र बुझ्दै नगरप्रमुख प्रदीपकुमार यादवले आफू आदिवासी जनजातीमा सूचिकृत जातीलाई सेवा सुविधा प्रदान गर्न तयार रहेको प्रतिवद्धता व्यक्त गरे । यद्यपि नगरपालिकाको ऐन नगरसभाबाट मात्रै बन्ने भएकाले यसमा समय लाग्ने स्पष्ट गरे ।
यता ज्ञापन पत्र बुझाउन पुगेका आदिवासी जनजातीहरु आफूहरुको माग ३ दिन भित्र सम्बोधन नभए आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएका छन् ।
२०७८ चैत १७ गते हँसपुर नगरपालिकाले अमात, कुम्हर, कुर्मी, केवट, भेडिहर, बिन्द, मलाह, माली र बरही जातीलाई आदिवासी जनजातीमा सूचिकृत गर्न माग गरेको थियो । सोही वर्ष चेत २४ गते नगरपालिकाले ती जातीहरु सम्बन्धी प्रतिवेदन अनुमोदन गरी राजपत्रमा समेत प्रकाशित गरेको थियो ।





