एसपी रिपोर्टर
जनकपुरधाम, असार २ :
जनकपुरधाममा महेन्द्र नारायण निधि आमन्त्रित कराते प्रतियोगिता सुरु भएको छ । जनकपुरधामको कभर्डहलमा सुरु भएको प्रतियोगितामा मधेश प्रदेशका विभिन्न तौल समुहका कराते खेलाडीहरू सहभागी भएका छन् । प्रतियोगीताको समुदघाटन गर्दै नेपाली कांग्रेसका सांसद् तथा पूर्वउपसभापति विमलेन्द्र निधिले कराँते कुनै पनि अस्त शस्त्र र हतियारको प्रयोग बिना आफनो कला कौशल र शक्तिले खेलिने खेल रहेकाले अहिंसावादी खेल रहेको बताएका छन् ।

पुर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका निधीले अहिंसावादी खेल कराँते अहिंसा र गान्धीवादी नेता स्व. महेन्द्र नारायण निधीकै नामबाट आयोजना गरिएकोमा आयोजकलाई धन्यावाद दिए । उनले जनकपुरधाममा खेलकुदको विकासका लागि प्रस्तावित श्री रामजानकी बहुद्देश्य अन्तराष्ट्रिय रंगशालाको निर्माण कुनै पनि हालतमा हुनैपर्ने समेत बताएका छन् ।

निधीले चाहे भारतले बनाओस कि नेपाल सरकारले तर रंगशाला बन्नुपर्ने आफनो धारणा सुनाए । सो अवसरमा जनकपुरधामका मेयर मनोजकुमार साह र उपमेयर किशोरी साहल, कांग्रेस धनुषाका सभापती योगेन्द्र पजियार लगायतले खेलकुदको महत्वबारे चर्चा गर्दै जनकपुरधाममा खेलकुद विकास र पुर्वाधारमा ध्यान केन्द्रित हुनुपर्ने बताए ।

सो अवसरमा राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगीता २०८० मा पदक विजेता मधेश प्रदेशकी खेलाडीद्वय पोर्सिया चौधरी र सुजता परियारलाई सम्मान गरिएको थियो । नेपाल लोकतान्त्रिक खेलकुद संघ धनुषा र अध्यक्ष अखिल मढीको आयोजनामा भएको प्रतियोगीतामा विभिन्न तौल समुहमा भएको कराँतेमा मधेशका धनुषा, महोतरी, सिरहा तथा सप्तरी जिल्लाका खेलाडीहरुको सहभागिता रहेको थियो ।

प्रतियोगीतामा महोतरी प्रथम, सप्तरी द्वितिय र महोतरीको खैरमारा तृतिय भएको थियो । विजेता हरेक खेलाडीलाई गोल्ड मेडल र एक हजार नगद प्रदान गरिएको आयोजकले जनाएको छ । समुदघाटन समारोहमा नेपाली कांग्रेसका नेताहरु, कराँतेका प्रशिक्षक र पुर्व खेलाडीहरु सहितको उपस्थिती थियो ।