एसपी रिपोर्टर
जनकपुरधाम, असार १ : मधेस प्रदेश सरकारले आज (शुक्रबार) आगामी आर्थिक वर्षको बजेट ल्याउँदैछ । प्रदेशका अर्थमन्त्री संजयकुमार यादवले आर्थिक वर्ष २०८०÷८१ को आर्थिक बिनियोजन विधेयक(बजेट) आज साँझ ५ बजे प्रदेश सभाको बैठकमा प्रस्तुत गर्दैछन् । प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ । अर्थ मन्त्रालयका सचिव प्रेमप्रसाद भट्टराईले प्रदेश सरकारको २० अर्ब र संघीय सरकारले दिने १५ अर्ब गरी कूल ३५ अर्बको बजेट ल्याउन लागिएको बताए ।
संघ सरकारले आगामी आर्थिक वर्षका लागि मधेसमा २२ प्रतिशत बजेट कटौती गरी पठाएकाले यस वर्ष बजेटको आकार घट्ने उनले जानकारी दिए । चालु आर्थिक वर्षको तुलनामा १२ अर्व कम बजेट ल्याउन लागिएको छ ।
कृषि, स्वास्थ्य, शिक्षा र सिचाईं प्रमुख प्राथमिकतामा
अर्थमन्त्री यादवले आगामी वर्षको बजेटमा कृषि, स्वास्थ्य, शिक्षा र सिचाईंलाई प्रमुख प्राथमिकतामा राखिएको जानकारी दिएका छन् । यादवले भने, ‘हामीले बजेटको मुख्य प्राथमिकतामा कृषि, स्वास्थ्य, शिक्षा, सिचाईंलाई राखेका छौं । रुपान्तरणकारी र उत्पादनमूलक क्षेत्रमा बढि बजेट विनियोजन गरिएको छ । विगतमा सञ्चालनमा आएका प्रादेशिक गौरवका आयोजनाहरुलाई निरन्तरता दिइएको छ ।’
उनले जनताको आवश्यकतालाई सम्बोधन गर्नेगरि जनजनको अनुहारमा मुस्कान ल्याउने र तिनका आवश्यकता पूर्ति गर्ने तथा हरेक वर्ग, जाति समुदायलाई समेटने गरि यथार्थपरक बजेट आउने जानकारी दिए । बजेटको सिलिङ्ग घटाइएको छ नि भन्ने सवालमा उनले भने, ‘प्रदेशको अनुदान घटेकोले बजेटको सिलिङ्ग घटाइएको हो । तरपनि गत वर्षको तुलनामै सिलिङ्ग रहनेछ ।
हामीसँग भएकै स्रोत साधन अनुसार हामीले न्यायोचित हिसाबले वितरण गर्ने हो । सहमतिमै सिलिङ्ग निर्धारण गरिएको छ । करिब करिब गत वर्षकै हाराहारीमा बजेट आउँछ ।’ उनले नयाँ योजनाहरु टुक्रे नआउने र गत वर्षका अधुरा योजनाहरुमा कम रकम विनियोजन भएकोमा नयाँ योजनामा पहिलेको परिपाटी कायम नगरी परियोजना पूरा हुनेगरि रकम विनियोजन गरिएकोसमेत जानकारी दिए ।
मधेस प्रदेश सरकारले यसअघि आर्थिक वर्ष २०७६÷७७ मा ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजार रुपैयाँको बजेट ल्याएको थियो । त्यस्तै, २०७७÷७८ का लागि ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजार र २०७८÷७९ मा ३३ अर्ब ७९ करोड १४ लाख ३० हजार रुपैयाँको बजेट सार्वजनिक गरिएको थियो । मधेस प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७९÷८० मा ४६ अर्ब ९१ करोड ४८ लाख ८८ हजारको बजेट ल्याएको थियो ।





