एसपी रिपोर्टर

जनकपुरधाम, जेठ ३१ :

नेकपा माओवादी केन्द्रका नेता रामकुमार शर्माले नागरिकता विधेयक सम्बन्धि आदेश अविलम्ब सर्वोच्च अदालतबाट नआए सत्याग्रहमा बस्ने चेतावनी दिएका छन् ।

नागरिकता सम्बन्धि आदेश सर्वोच्च अदालतबाट नआउँदा लाखौ नेपाली युवा बिचल्लीमा परेकाले अविलम्ब नागरिकता प्रदान गर्ने फैसला आओस माग शर्माले गरे । जनकपुरधाममा माओवादी नेता शर्माले एक पत्रकार सम्मेलनको आयोजना गर्दै नागरिकता प्रदान गर्ने आदेश अविलम्ब नआए असार १ गतेदेखि सत्याग्रहमा बस्न बाध्य हुने चेतावनी दिएका हुन् ।

नेपालको संविधान २०७२ जारी भएको करिव ८ वर्ष भैसकेको र संविधान जारी भएको मितिले ३ वर्ष भित्र संघीय संसदबाट कानुन बनाएर पूर्ण रूपमा कार्यान्वयन गरिने भनिएपनि राज्यद्वारा अनागरिक बनाउने प्रपञ्च सह्य नहुने उनले बताए । नागरिकता विधेयक संघिय संसदबाट पारित भएर राजपत्रमा प्रकाशित भईसक्दा समेत अनेक बहानामा कार्यान्वयन गर्न षड्यन्त्र हुँदै आईरहेको उनले आरोप लगाए ।

‘संविधान बमोजिम नागरिकता पाउन योग्य १० लाख भन्दा बढी नेपाली यूवाहरुको पिडालाई आत्मसात गत जेठ १७ गतेका दिन नागरिकता विधेयक प्रमाणीकरण भयो र गृहमन्त्रालयले तत्काल राजपत्रमा प्रकाशित भयो ।’ शर्माले भने ‘तर षड्यन्त्रपूर्वक नागरिकता विधेयक असफल बनाउनकैलागि सर्वोच्च अदालत मार्फत षड्यन्त्र सुरु भएको छ ।

शर्माले राष्ट्रिय एकता कायम राख्नका लागि पनि नागरिकता प्रदान गर्ने आदेश चाँडै आउनु आवश्यक रहेको बताए ।