एसपी रिपोर्टर
जनकपुरधाम, जेठ ६ :
नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले अहिलेको राष्ट्रिय समस्याको रुपमा रहेको भ्रष्टाचारको अन्त्य गर्नु पहिलो प्राथमिकता हुनुपर्ने बताएका छन् । देशैभरी अहिले समस्याको रुपमा रहेको भ्रष्टाचारको अन्त्य नभएसम्म देशलाई विकासतर्फ डोर्याउन कठिन हुने भएकाले यो राष्ट्रिय समस्या समाधान हुनु आवश्यक रहेको बताए । भ्रष्टाचारलाई निर्मूल पार्नु नै अहिले पहिलो प्राथमिकता हुनुपर्ने बताए ।

जनकपुरधाम विमानस्थलमा संचारकर्मीहरुसंग कुराकानी गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले सरकार मुलुकमा सुशासन कायम गर्नकालागि कदमहरु उठाईरहेको छ, उनले भने ‘यो राम्रो विषय हो, सरकारले ल्याएको निति तथा कार्यक्रममा देश र जनताको समस्या समाधानका उपाय खोज्ने गरी ल्याइएको छ ।’
एक अर्को प्रसंगमा पूर्व प्रधानमन्त्री नेपालले रेशम चौधरीलाई रिहाईकालागि हामी सबै लागि परेको बताए । सर्वोच्च अदालतले उनलाई दोषी सावित गरिसकेको छ, हामी त्यसबाहेकका विकल्पको खोजीमा छौँ, उनले भने ‘अदालतले उनलाई निर्दोष सावित गर्ला भन्ने सोचेका थियौँ तर त्यस्तो भएन ।’ रेशमजी टिकापुर घटनामा सहभागी पनि हुनु हुन्न थियो त्यसैले उनको रिहाई हुनु पर्छ ।’

मधेस सरकारमा वर्तमान नेतृत्वलाई नै निरन्तरता दिने गरी सहमति भएको जानकारी गराउँदै नेपालले गठबन्धनको मर्म अनुरुप सहभागी दलहरुलाई सहभागी गराउने जिम्मा मुख्यमन्त्रीलाई नै दिइएको उनले जानकारी दिए ।