पुरन रौनियार
जनकपुरधाम, बैशाख २९ : भनिन्छ जस्को कोहि हुदैन उस्को लागि पनि यस दुनियामा कोहि न कोहि अवस्य हुन्छ । विभिन्न कारणले घरवार विहिन र बेसाहारा भएका अवोध, फरक क्षमता र बृद्वबृद्वाहरुको लालनपालन भन्दा ठुलो मानवता र कर्म अरु के हुन सक्छ ? यस्तै धर्म र सेवामा तत्पर छ जनकपुरधाम स्थित मानव सेवा आश्रम
जनकपुरधामको प्रसिद्व राराब क्याम्पस भन्दा उत्तरपुर्व पाँचसय मिटरको दुरीमा रहेको सुन्दर र शान्त भवन मानवसेवा आश्रमको हो । यस अघि यो भवन श्रम तथा रोजगार कार्यालयको रुपमा थियो, यहाँ बिदेशमा श्रम गर्न जाने यस क्षेत्रका युवाहरु यहाँ आएर श्रमका कामहरु गराउन लामवद्व हुन्थे । तर यो भवन अहिले जस्को यस दुनियामा कोहि साहारा छैन उनीहरुको संसार जस्तै बनेको छ ।

भोकाएका यिनीहरुको यस दुनियामा अहिले कोहि पनि छैन । विभिन्न कारणले घरवार विहिन भएका यिनीहरुको खाने, बस्ने, कपडा लाउने देखि असक्षम रहेकालाई शौचालय र स्नान सहितका नित्यकर्म समेत गरिदिन यहाँ सेवक खटेका छन् । उनीहरुलाई हसाउने, खेलाउने, विभिन्न ज्ञानहरु सिकाउनेहरु सेवकरुपी गुरुहरु पनि यही छन् ।
मानव सेवा आश्रमका सञ्चालक सेवक सुमन बर्तौलाले घर परिवार र आफन्तबाट परतिक्त भएर मानसिक र शारिरिक रुपमा कमजोर आमाबुवाहरुको उद्दार, सेवा र परिवार खोजेर पुर्नमिलन गराउने विगत ११ वर्षको निरन्तको अभियान स्वरुप आफुहरु त्यसस्ता बेसाहाराको लालनपालन देखि औषधी उपचार सम्मको सेवा प्रदान गरिरहेको बताउछन् ।

२०६९ सालमा मकवानपुरको हेटौडा बाट सुरु भएको सेवारुपी आश्रमको हाल देशको सात प्रदेशको १९ जिल्लामा गरि कुल २३ सेवा केन्द्र रहेको जसवाट अहिले सम्म ८ हजार जनाले सेवा लिएका छन् । अहिले पनि १६ सय जनाले देश भरिमा सेवा लिइरहेको उनको भनाई छ ।
गत वर्षको जेठ १४ जते जनकपुरधाममा आश्रमको १८ औं जिल्ला शाखाको रुपमा सञ्चालित यस आश्रममा समेत हाल ४८ जनाले सेवा लिइरहेका छन् । सञ्चालक बर्तौलाले अस्ती मात्र तिनजनालाई उद्दार गरिएको स्मरण गरे । आश्रम पुग्ने विभिन्न राजनितिक दलका नेताहरु आश्रमलाई वास्तविक धर्म कमाउने मन्दिरका रुप चित्रण गर्छन ।

नेपाली कांग्रेसका पुर्वउपसभापती तथा पुर्व उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीले जनकपुरधामको यो चौरीमा रहेको आश्रममा आएर यहाँको काम र योगदान देखेर आफु निशब्द भएको भन्दै आश्रमको आफनै संरचनाका लागि आफु जस्तो सुकै सहयोग गर्ने खुसी हुदै भने । केहि दिन अगाडि आश्रम पुगेका निधीले भने, ‘यो भन्दा ठुलो धर्म अरु केहि हुन सक्दैन यसलाई मन्दिर बनाउँ ।
धनुषाका प्रमुख जिल्ला अधिकारी र गुठी संस्थान जनकपुरधामका प्रमुख समेत सहभागि कार्यक्रममा नेता निधीले आश्रमको आफनै भवन र आश्रमका लागि जग्गाको व्यवस्थानमा सहयोग गरिदिन आग्रह गरे । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख समेतको सो टोली आश्रमका लागि विभिन्न गुठीको जग्गाको समेत अवलोकन गरेका छन् । प्रतिनिधीसभा सदस्य समेत रहेका नेता निधीले तत्कालै कम्तिमा एक बिघ्घा जग्गाको व्यव्स्थापन गरि आश्रमको आफनै भवन निर्माणको काममा सहयोग गर्न सम्बन्धित निकायका प्रतिनिधीहरुलाई निर्देशन समेत दिएका थिए ।

नेताहरुले आफनै हातले ति बेसाहाराहरुलाई भोजन हस्तान्रतण गरि खुवाउने गरेका छन् । जनकपुरधाम स्थित आश्रमको संरक्षकत्व निर्वाहन गरिरहेका जनकपुरधाम स्थित प्रसिद्व सुन्दर स्र्वगद्वारीका संस्थापक समाजसेवी पवन सिंहानियाले आश्रमको वर्ष भरिको भोजन व्यस्थापनका लागि ३ सय ६५ जनाको एक समुह बनाउने उद्देश्यले सर्वप्रथम आफनै परिवारका पाँचजनाबाट सुरु गरि अहिले सम्म १ सय ५० जनाको समुह बनाएर एक छाकको पाँच हजार र दिनभरको भोजन वापत ११ हजार सहयोग संकलन गरि सञ्चालनमा टेवा पुरयाइरहेको बताए ।

उनले नेपालीहरुकै सहयोगबाट चल्ने आश्रमलाई सहयोगका लागि अपिल समेत गरेका छन् । भाँडामा रहेको भवनको भाँडा, कर्मचारी र सेवकको तलव, खाद्यान्न, औषधी उपचार सहित हाल महिनाको पाँच लाख खर्चमा आश्रम चलिरहेको छ । सञ्चालक सुमन र काव्याले अन्य जिल्लामा घरभाँडा स्थानिय सरकारले तिरदिने गरेको भन्दै जनकपुरधाम उपमहानगरपालिकाबाट समेत सो अपेक्षा रहेको बताए ।
पुग्ने वितिकै मनमा सेवाभाव उत्पन्न हुने यस आश्रममा रहेका यि दिनदुखीहरुको सेवामा तल्लिन यस आश्रमको सञ्चालन र संरक्षणमा समाज र तिनै तहको सरकारले ध्यान दिन आवश्यक रहेको बुद्विजिवीहरुको भनाई छ ।



