एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख २६ : जनकपुरधाममा आदिकवि भानुभक्त आचार्यको शालिक पुनःनिर्माण कार्य अबलिम्ब सुचारू नगरिए आन्दोलन गर्ने चेतावनी विभिन्न दलका भ्रातृ संगठनहरूले आन्दोलन दिएका छन् । जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमत पार्टीको विद्यार्थी र युवाहरुको साथै नेताहरुको पनि विरोधका कारण शालिक पुनःनिर्माणको काम स्थगित गरिएपछि कांग्रेस सहितका १३ दलका विद्यार्थी र युवा संगठनहरु भानुभक्तको शालिक पुर्नस्थापनाको पक्षमा उभिएका छन् ।
शालिक पुनःनिर्माणको काम सुचारू नगरे चरणबद्धरूपमा आन्दोलन गर्ने १३ वटा भ्रातृ संगठनले चेतावनी दिएका हुन् । जनकपुरधाम उपमहानगर र जिल्ला प्रशासन कार्यालयविरूद्ध आन्दोलन गर्ने चेतावनी दिनेहरुमा नेपाली कांग्रेस निकट नेविसंघ र नेपाल तरुण दल, नेकपा एमाले निकट युवा संघ अनेरास्ववियु र युथ फोर्स, नेकपा माओवादी निकट अखिल क्रान्तिकारी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियू, युवा संघ नेपाल, राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन, राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन, नेपाल समाजवादी पार्टी निकट नेपाल समाजवादी विद्यार्थी युनियन रहेका छन् ।
उनीहरुले जनकपुरधाम उपमहानगरपालिकालाई पुर्न निर्माणको काम सुरु गर्न र जिल्ला प्रशासन कार्यालयलाई सुरक्षाको प्रबन्ध मिलाउन आग्रह गर्दै ध्यानाकर्षण पत्र समेत बुझाएको छ । यी संगठनले संयुक्त रूपमा मेयर मनोज साहलाई ध्यानाकर्षण पत्र बुझाउँदै भानुभक्तको शालिक अबिलम्ब निर्माण गर्न माग गरेका हुन् ।
‘छिटोभन्दा छिटो भानुभक्तको शालिक निर्माण कार्य सुचारू नभए हामी चरणबद्ध आन्दोलनमा जानेछौं र त्यसको सम्पुर्ण क्षतिपूर्तिको जिम्मेवारी उपमहानगरपालिका स्वयम् हुनेछ,’ ध्यानाकर्षण पत्रमा भनिएको छ । गएको वैशाख १६ गते जनकपुरधामका मेयर मनोज साह शालिक पुनःनिर्माणको शिलान्यास गर्न पुगेपछि जसपा, लोसपा र जनमत पार्टीका नेता कार्यकर्ताले टायर बालेर विरोध प्रदर्शन गरेका थिए । विरोध प्रदर्शन हुँदै गर्दा प्रहरी तैनाथ गरेर मेयर साहले जगको दुई इटा राखेका थिए ।
जसपा र लोसपाले शालिक बन्न नदिने अडान लिएपछि निर्माण कार्य स्थगित छ । ०६३ सालको मधेश आन्दोलनका क्रममा आन्दोलनकारीले यहाँ रहेको भानुभक्तको शालिक तोडेर ‘भानुचोक’ को साटो मधेश आन्दोलनका पहिलो शहीद रमेश महतोको नाममा ‘रमेशचोक’ नाम राखेको भएपनि अझै सो चौकलाई भानुचौकनै भन्ने गरिएको छ ।
उनीहरूले यो ठाउँमा भानुभक्तको साटो रमेश महतोको शालिक निर्माण हुनुपर्ने माग गरिरहेका छन् । विवादपछि शालिक निर्माण हुने स्थानमा अहिले खाल्डो खनेर छोडिएको छ । यद्यपि शालिक निर्माणका लागि सर्वदलीय बैठकबाट सहमति खोज्ने प्रयास भइरहेको मेयर साहको भनाई छ ।
विश्व हिन्दु परिषद्का विभिन्न संगठनहरूले भानुभक्तको शालिक पुनःनिर्माणको माग गरेपछि जनकपुरधाम उपमहानगरले त्यसका लागि २० लाख रुपैयाँ बजेट छुट्याएको छ । शालिक निर्माणका लागि विश्व हिन्दु परिषदका सदस्य प्रभु जलानकै अध्यक्षतामा उपभोक्ता समिति गठन गरिएको छ ।





