एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख १९ : बैशाख १८, मिथिलाको राजधानी जनकपुरधामका लागि कालो दिन । २०६९ सालमा सोहि दिन मिथिला राज्यको माग गर्दै जनकपुरधामको रामानन्द चोकमा शान्तिपूर्ण धर्नामा बम बिष्फोट हुँदा पाँचजनाको ज्यान गयो कतिपय अंगभंग भए । सो घटनाको ११ वर्ष पुरा भएको छ ।
मिथिला राज्य संघर्ष समितिको अगुवाइमा भइरहेको शान्तिपूर्ण धर्नाको क्रममा धर्नास्थलमा बम बिष्फोट हुँदा मिथिला नाट्यकला परिषद्का कलाकार रञ्जु झा, सुरेश उपाध्याय, दीपेन्द्र दास, झगरू मण्डल र विमल शरणको ज्यान गएको थियो । बम बिष्फोटमा परेर अन्य दुई दर्जन व्यक्ति घाइते भएका थिए ।
ज्यान गएका पाँचैजना मिथिला र मैथिलीका लागि आ आफनो क्षेत्रबाट काम गर्ने कुशल व्यक्तिहरु थिए । पछि उनीहरुलाई शहिद घोषणा पनि गरियो । तर ति शहिदहरु अव तत्कालिन आन्दोलनको अगुवाई गरेका अभियानीहरुका लागि पनि एक दिनको मात्र शहिद जस्तो लाग्न थालेको छ । प्रत्येक वर्ष बैशाख १८ का दिन शहिदहरुको केहि घण्टा स्मरण र चर्चा हुन्छ त्यसपछि ३ सय ६४ दिन शहिदको केहि न केहि ।
जनकपुरधाममा मिथिला र मैथिली सम्बन्धित कार्यक्रमहरु दैनिक जसो कुनै न कुनै भइरहेकै हुन्छ तर ति शहिदहरुको स्मरण गरिदैन । घटनाको केहि महिना वा वर्ष त्यस्ता कार्यक्रममा ति शहिदहरुको तस्वीरमा मल्यापर्ण र श्रद्वाञ्जलीका पुष्प र शब्द अर्पण गरिन्थ्यो तर अव त्यो पनि छैन । बैशाखको सो दिन शहीदहरूको सम्झनामा स्थानीय रामानन्द चोकमा मिथिला शहीद दिवस मनाइन्छ वाँकी गतिविधी शुन्य जस्तै छ ।

मिथिला राज्य संघर्ष समितिले आयोजन गर्ने श्रद्धाञ्जली सभाको आयोजना पनि सिमित समुह र व्यक्तिलाई मात्र थाहा हुन्छ । मिथिलाको राजधानी जनकपुरधाममा मिथिला शहिदको श्रद्वाञ्जलीसभामा हुनु पर्ने सहभागिता न्युन हुन्छ नै अपनत्व र व्यापकताका लागि पनि कुनै पहल भएको देखिदैन । ति आन्दोलनलाई भजाएर पद, योजना र रकम कमाउनेहरु पनि धेरै छन तर उनीहरुको मानसपटलमा पनि ति शहिदहरु त्यसै दिनका कारण मात्र स्मरणिय हुन पुगेको देखिन्छ ।
यस वर्ष पनि त्यस्तै भयो । श्रद्धाञ्जली सभामा मिथिला राज्य प्राप्तिका लागि तत्कालिन मिथिला राज्य संघर्ष समितिद्वारा २०६९ सालमा गरिएको शान्तिपूर्ण आन्दोलनमा शहादत प्राप्त गरेका शहीद रञ्जु झा, सुरेश उपाध्याय, विमल शरण, दीपेन्द्र दास र झगरू मण्डलप्रति सहभागीहरूले श्रद्धाञ्जली अर्पण गरिएको थियो । घटनाका केहि घाइते र जिउँदा शहिद आफना तिता अनुभव र त्यसपछिको आन्दोलन र अभियानीहरुको शक्ति र उर्जा स्खलनका विषयमा बोलेपनि त्यसको प्रभाव पनि सोहि दिन केहि मिनेटका लागि मात्र समिति हुन्छ ।
मैथिली र मिथिला सिमित समुहको चंगुलमा फँसेकाले सबैको अपनत्व नभई कमजोर भएको कुरा स्वयम मिथिलाका अभियानीहरुले पनि नबोल्ने गरेको होइन तर व्यवहारमा त्यसको प्रयोग कतै देखिदैन । बम विष्फोटमा परी ज्यान गुमाउनेहरूलाई सरकारले शहीद घोषणा गरिसक्दा सो विष्फोट गराउने मुख्य योजनाकार पूर्व राज्यमन्त्री तथा धनुषाका निर्वाचित सांसद सञ्जय साहसहित ७ जनाले जन्मकैदको सजाय पाए र त्यसपछि आन्दोलन सफल भएको जस्तै अभियानहरु सुस्ताए ।
शहीदको छोरीको विवाहमा पनि ध्यान जाँदैन
सोमवार पनि तत्कालिन मिथिला राज्य संघर्ष समितिको नेतृत्वमा मिथिला राज्यको माग गर्दै आन्दोलनको क्रममा शहादत प्राप्त गरेका शहीदहरूको पूण्यतिथिको त्यस दिनलाई स्मरण गर्दै श्रद्धासुमन अर्पित गरी वक्ताहरु शहिदलाई ठग्ने काम सम्पन्न भएको आरोप लगाइएको छ ।
युवा अभियन्ता सरोज मिश्रले मिथिला मैथिलीको नामले वर्षौंदेखि ठग्दै, लुट्दै आइरहेका दर्जनौं संघसंस्थाका पदाधिकारीहरूले वर्षमा एकदिन शहीदहरूलाई क्षणिक याद गर्नु कुनै अलौकिक कुरा नभएको आरोप लगाए ।
उनले भने, ‘जुन अभियान र राज्यको मागसहित आन्दोलनमा शहादत प्राप्त गरी आफ्नो घरपरिवार र सन्तानलाई अनाथ बनाई परलोक गइसकेका मृतआत्माको घरपरिवारको अवस्था बुझ्ने पात्रहरू आजसम्म कहिल्यै देखा परेनन् । वर्षमा एकदिन केहीबेरका लागि श्रद्धाञ्जली सभा मनाउनेहरू धेरै भेटिन्छन् । चाहे त्यो मिथिला आन्दोलनका शहीदका लागि होस् अथवा मधेस आन्दोलनको शहीदका लागि । यो सबैको पछाडि लोभ, निहित स्वार्थ, विभिन्न नाम र मुद्दाको रूपमा चलिरहेको व्यापार अमुख छ ।’

‘हामी सबैजना पापी छौं र हामी आफ्नो दायित्व एवम् कर्तव्यबाट पञ्छिरहेका छौं, उनले भने, ‘यदि हामीले प्रयास गर्यौं भने यस पापको केही अंश कट्ने समय आउन सक्छ ।’
‘बैशाख २९ गते मिथिलाका शहीद विमल शरणकी छोरीको विवाह तय गरिएको छ । उनको विवाहमा करीब ५ लाख रूपैयाँ खर्च लाग्ने न्यूनतम अनुमान गरिएको छ । शहीद शरणका परिवार निरीह छन् । तर, छोरी विवाह पनि उत्तिकै आवश्यक छ । शहीद शरणको आत्माले शान्ति तबमात्र पाउन सक्छ जब यथार्थ रूपमा सहयोगी हातहरूले उनको छोरीको विवाह गराउन सक्लान् । हामी सबै मिलि यस पुण्य काममा सहभागी बनौं, ‘उनले भने ।
उनले आग्रह गर्दै भने, ‘म सबैजनसँग हात जोडेर बिन्ती गर्छु, शहीद विमल शरणकी छोरीको विवाहमा हामी सबै मिलेर सहयोग गरौं । छोरी सबैको घरमा हुन्छन् । छोरीको सम्मान हामी सबैको दायित्व हो । छोरी समाजको मान प्रतिष्ठा हुन्छन् र त्यसमाथि झन शहीद परिवारकी छोरी । यो दायित्व निर्वाह गरी केही पाप कटाएर पुण्यको भागीदार बनौं ।’
मधेश आन्दोलनका शहीद परिवारहरूलाई सरकारद्वारा केही राहत प्रदान गरिएपनि मिथिला आन्दोलनका शहीद परिवारहरू अहिलेसम्म आहतको शिकार मात्र रहेको आरोप उनीहरुको छ ।





