एसपी रिपोर्टर
जनकपुरधाम, भदौ ८:
जनकपुरधामस्थित श्री राम युवा कमिटीले आफ्नो ३६औँ स्थापना दिवसको अवसरमा विभिन्न सामाजिक तथा सेवामूलक कार्यक्रम आयोजना गर्ने भएको छ।
स्थापना दिवसलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै कमिटीले सरसफाइ, वृक्षारोपण, दीप प्रज्वलन, मानव सेवा आश्रममा निःशुल्क भोजन तथा रक्तदान कार्यक्रम गर्न लागेको हो।
कमिटीका महासचिव सुभाष चन्द्र शाहका अनुसार भदौ ११ गते बिहान ७ः३० बजे कमिटी परिसरमा सरसफाइ तथा वृक्षारोपण कार्यक्रम गरिनेछ। सोही दिन साँझ स्थापना दिवसको अवसरमा दीप प्रज्वलन कार्यक्रम आयोजना हुनेछ।
त्यस्तै, भदौ १२ गते शुक्रबार साँझ ६ बजे मानव सेवा आश्रममा आश्रित व्यक्तिहरूका लागि निःशुल्क भोजनको व्यवस्था गरिएको कमिटीले जनाएको छ।
स्थापना दिवसकै अवसरमा भदौ १३ गते शनिबार बिहान ७ः३० बजेदेखि जनकचोकमा रक्तदान कार्यक्रम आयोजना गरिनेछ। रक्तदानमार्फत सामाजिक सेवामा योगदान पुर्याउने उद्देश्यले कार्यक्रम गर्न लागिएको महासचिव शाहले बताए।
कमिटीले स्थापना दिवसका सबै कार्यक्रममा संस्थापक अध्यक्ष, पूर्वअध्यक्ष, पूर्ववरिष्ठ निर्देशक, पूर्वनिर्देशक, पूर्व तथा वर्तमान पदाधिकारी, कार्यसमिति सदस्य तथा सम्पूर्ण सदस्यलाई सक्रिय सहभागिताका लागि आग्रह गरेको छ।
कमिटीले स्थापना दिवसलाई केवल उत्सवका रूपमा नभई सामाजिक सेवा, मानवीय सहयोग तथा समुदायप्रतिको उत्तरदायित्व निर्वाह गर्ने अवसरका रूपमा मनाउन लागेको जनाएको छ।





