एसपी रिपोर्टर
जनकपुरधाम, भदौ ९:
पहिचान, अधिकार र पुनःस्थापनाको माग गर्दै मुक्त हरवा चरवाले सोमबार जनकपुरधाममा दबाबमूलक र्‍याली प्रदर्शन गरेका छन्।
मधेश प्रदेशका आठवटै जिल्लाका मुक्त हरवा चरवाको सहभागितामा गठित हरवा चरवा संघर्ष समितिको आयोजनामा निकालिएको र्‍यालीमा विभिन्न जिल्लाबाट आएका मुक्त हरवा चरवा, अधिकारकर्मी तथा सामाजिक अभियन्ताको सहभागिता थियो।
जनकपुरधामको रेलवे स्टेसनबाट सुरु भएको र्‍याली नगरका विभिन्न मुख्य सडक हुँदै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मूल गेटसम्म पुगेको थियो। प्रदर्शनका क्रममा सहभागीहरूले मुक्त हरवा चरवाको पहिचान सुनिश्चित गर्नुपर्ने, पुनःस्थापनाका कार्यक्रम सञ्चालन गर्नुपर्ने तथा जीविकोपार्जनका आधार सुनिश्चित गर्नुपर्ने माग गरेका थिए।

संघर्ष समितिका सदस्य लागेन्द्र सदाका अनुसार सरकारले मुक्त हरवा चरवाको पुनःस्थापना, शिक्षा, स्वास्थ्य तथा रोजगारीका अवसर सुनिश्चित गर्ने स्पष्ट प्रतिबद्धता नजनाएसम्म आन्दोलन जारी रहनेछ।
समितिका प्रतिनिधिहरूले हरवा चरवा प्रथा अन्त्य भएको घोषणा गरिए पनि व्यवहारमा धेरै मुक्त हरवा चरवा अझै भूमिहीन, आवासविहीन तथा रोजगारी र सामाजिक सुरक्षाबाट वञ्चित रहेको बताएका छन्। उनीहरूले प्रथा अन्त्यसँगै त्यसबाट प्रभावित परिवारको पुनःस्थापनालाई सरकारले प्राथमिकतामा राख्नुपर्ने माग गरेका छन्।
संघर्ष समितिले आन्दोलनको दोस्रो चरणअन्तर्गत भदौ १० गते बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअगाडि धर्ना दिने जनाएको छ। धर्नाका क्रममा प्रदेश सरकारलाई मागपत्र बुझाउँदै मुक्त हरवा चरवाका समस्या तत्काल सम्बोधन गर्न दबाब दिने समितिको तयारी छ।