एसपी रिपोर्टर
जनकपुरधाम, भदौ ९:
मधेश प्रदेश सरकारले प्रहरीको सञ्चार प्रणालीलाई थप प्रभावकारी र प्रविधिमैत्री बनाउने उद्देश्यले मधेश प्रदेश प्रहरी कार्यालयलाई विभिन्न सञ्चार सामग्री हस्तान्तरण गरेको छ।
गृह, सञ्चार तथा कानुन मन्त्रालय परिसरमा आयोजित कार्यक्रममा मन्त्रालयका मन्त्री फकिरा महतोले मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख ओमप्रसाद अधिकारीलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन्।
सुरक्षित मधेश निर्माणका लागि प्रहरीको सञ्चार प्रणालीलाई व्यवस्थित, प्रभावकारी तथा प्रविधिमैत्री बनाउन सामग्री खरिद गरी हस्तान्तरण गरिएको मन्त्री महतोले बताए। नयाँ सञ्चार सामग्रीको प्रयोगपछि प्रहरीबीच सूचना आदानप्रदान, समन्वय तथा सुरक्षा व्यवस्थापनमा थप सहजता पुग्ने उनको भनाइ छ।

शान्ति सुरक्षा कायम गर्न प्रहरीको भूमिका महत्वपूर्ण रहेकाले आवश्यक स्रोतसाधन उपलब्ध गराउन प्रदेश सरकार प्रतिबद्ध रहेको मन्त्री महतोले बताए।
मन्त्रालयका अनुसार हस्तान्तरण गरिएका सामग्रीले प्रहरीका विभिन्न इकाइबीच सूचना सम्प्रेषण तथा समन्वयलाई थप चुस्त र प्रभावकारी बनाउन सहयोग पुग्नेछ।
कार्यक्रममा मधेश प्रदेश प्रहरी कार्यालयका अधिकारी तथा गृह, सञ्चार तथा कानुन मन्त्रालयका कर्मचारीहरूको उपस्थिति थियो।