एसपी रिपोर्टर
जनकपुरधाम, भदौ ८:
मधेश प्रदेश सरकारले प्रदेशको शान्तिसुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन नेपाल प्रहरीलाई १२ वटा पिकअप जिप हस्तान्तरण गरेको छ।
प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले खरिद गरेका ती सवारीसाधन सोमबार गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले नेपाल प्रहरीलाई हस्तान्तरण गरेका हुन्।

प्रदेशका आठवटै जिल्ला प्रहरी कार्यालय र चारवटा इलाका प्रहरी कार्यालयका लागि सवारीसाधन उपलब्ध गराइएको हो। चन्द्रपुर, गरुडा, गोडैता र गडहिया इलाका प्रहरी कार्यालयलाई एक–एक वटा पिकअप जिप प्रदान गरिएको छ।
सवारीसाधन हस्तान्तरण गर्दै मन्त्री महतोले पिकअप जिपको उपलब्धताले प्रहरीको परिचालन क्षमता बढाउनुका साथै प्रदेशमा शान्तिसुरक्षा कायम गर्न र अपराध नियन्त्रणलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने बताए।

हस्तान्तरण कार्यक्रममा मन्त्रालयका सचिव विन्देश्वरीप्रसाद लेखक, मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी ओमप्रसाद अधिकारीलगायत प्रहरी तथा मन्त्रालयका अधिकारीहरूको उपस्थिति थियो।
प्रदेश सरकारले उपलब्ध गराएका पिकअप जिप प्रतिगाडी भ्याटसहित ३९ लाख ५ हजार रुपैयाँका दरले खरिद गरिएको जनाएको छ।