एसपी रिपोर्टर
जनकपुरधाम, भदौ १०:
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता जीतेन्द्र महासेठले पछिल्लो समय बालबालिका तथा महिलामाथि भइरहेका जघन्य अपराधले समाजको नैतिकता, मानवीय संवेदना र सामाजिक उत्तरदायित्वमाथि गम्भीर प्रश्न उठाएको बताएका छन् ।
उनले परिवर्तन समयको नियम भए पनि समाजले कस्तो परिवर्तन खोजिरहेको छ भन्ने विषयमा गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता रहेको बताए ।
महासेठका अनुसार विगतमा विद्यालयमा नैतिक शिक्षा र व्यवहारिक ज्ञानलाई प्राथमिकता दिइन्थ्यो भने समाजका हरेक व्यक्तिले बालबालिकाको व्यवहार र गतिविधिप्रति चासो राख्ने सामाजिक संस्कार थियो । अहिले यस्तो संस्कार कमजोर हुँदै गएको उनले बताए ।
‘पहिलो पाठशाला घर हो । बालबालिकाले घरबाटै संस्कार र सही–गलत छुट्याउने शिक्षा पाउनुपर्छ,’ उनले भने, ‘घरदेखि विद्यालयसम्म पुग्ने क्रममा परिवार, छिमेक, विद्यालय र समग्र समाजले बालबालिकाको सुरक्षाका लागि आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्छ ।’
उनले बालबालिकाको अस्वाभाविक गतिविधि, संगत तथा अपरिचित व्यक्तिसँगको सम्पर्कलगायत विषयमा अभिभावक र समाजले समयमै ध्यान दिनुपर्नेमा जोड दिए । छिमेकमै भइरहेका गलत गतिविधिबारे समेत मानिसहरू बेखबर बन्ने अवस्था बढ्दै जानु चिन्ताजनक रहेको उनको भनाइ छ ।
महासेठले अभिभावकले बालबालिकालाई सही र गलत व्यक्तिको पहिचान गर्न सक्ने चेतना र शिक्षा दिनुपर्ने बताए । बालबालिकाको निर्दोषताको फाइदा उठाउने आपराधिक प्रवृत्तिविरुद्ध परिवार, विद्यालय र समाज सबै सचेत हुनुपर्ने उनले उल्लेख गरे ।
यस्ता अपराध रोक्न घटना भएपछि मात्र समवेदना व्यक्त गर्ने र भाषण गर्ने प्रवृत्तिले नपुग्ने महासेठले बताए । अपराध नियन्त्रण र पीडितलाई न्याय दिलाउन राज्यले कानुनी व्यवस्था प्रभावकारी बनाउनुपर्ने तथा जघन्य अपराधमा संलग्नलाई कडा कारबाही हुने गरी कानुनको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ ।
‘अपराधीको मनमा कानुनको डर पैदा हुनुपर्छ । जघन्य अपराधमा संलग्नलाई उन्मुक्ति नहुने गरी राज्यले कडा र प्रभावकारी कानुनी व्यवस्था लागू गर्नुपर्छ,’ उनले भने ।
सरकार र राजनीतिक नेतृत्वले दलगत स्वार्थभन्दा माथि उठेर नागरिकको जिउधनको सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने महासेठले बताए । बालबालिका तथा महिलामाथि हुने हिंसा र अपराधमा शून्य सहनशीलताको नीति अवलम्बन गर्नुपर्ने उनको माग छ ।
‘हामी कुनै दल वा समूहका सदस्य हुनुअघि जिम्मेवार नागरिक र अभिभावक हौँ,’ महासेठले भने, ‘बालबालिकालाई सुरक्षित वातावरण दिन, समाजमा बढ्दै गएको विकृति रोक्न र अपराधीलाई कानुनी दायरामा ल्याउन राज्य, कानुन र समाजबीच एकजुट खबरदारी आवश्यक छ ।’
आफ्नो घर तथा छिमेकमा देखिने अस्वाभाविक गतिविधि र सामाजिक विकृतिबारे समयमै सम्बन्धित निकायलाई जानकारी गराउनु प्रत्येक नागरिकको सामाजिक उत्तरदायित्व भएको उनले बताए ।





