एसपी रिपोर्टर
जनकपुरधाम, भदौ ९ :
बजाज अटोले चेतक विद्युतीय स्कुटरका दुई नयाँ मोडल सी२५०१ र सी३५०३ जनकपुरधाममा सार्वजनिक गरेको छ। जनकपुरधामको विश्वकर्मा चोकस्थित ओम अटोमोबाइल्समा मंगलबार आयोजित कार्यक्रममा दुवै मोडल सार्वजनिक गरिएको हो।
कार्यक्रममा जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले विद्युतीय सवारीसाधनको प्रयोगले वातावरण संरक्षणसँगै ऊर्जा खपतको ढाँचामा समेत सकारात्मक परिवर्तन ल्याउन सक्ने बताए। तीव्र रूपमा विस्तार भइरहेको जनकपुरधामजस्तो सहरमा किफायती तथा वातावरणमैत्री सवारीसाधनको आवश्यकता बढ्दै गएको उनको भनाइ थियो।
ओम अटोमोबाइल्सका सञ्चालक सन्तोष साहले उपभोक्ताको आवश्यकता र बदलिँदो जीवनशैलीलाई ध्यानमा राखेर चेतकका नयाँ मोडल बजारमा ल्याइएको बताए।

चेतक सी२५०१ मा २ दशमलव ५ किलोवाट घण्टा क्षमताको ब्याट्री जडान गरिएको छ। कम्पनीका अनुसार यसले एकपटक पूर्ण चार्ज गर्दा ११३ किलोमिटरसम्म दूरी तय गर्न सक्छ भने यसको अधिकतम गति प्रतिघण्टा ६० किलोमिटर रहेको छ। यसको मूल्य २ लाख ८१ हजार ९ सय रुपैयाँ तोकिएको छ।

त्यस्तै, सी३५०३ मा ३ दशमलव ५ किलोवाट घण्टा क्षमताको ब्याट्री रहेको छ। यसले पूर्ण चार्जमा १५१ किलोमिटरसम्म दूरी तय गर्न सक्ने र यसको अधिकतम गति प्रतिघण्टा ७० किलोमिटर रहेको कम्पनीले जनाएको छ।
नेपालमा बजाजका दुईपांग्रे सवारीसाधनको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीको सहकार्यमा यी नयाँ मोडल बजारमा ल्याइएको हो। कम्पनीका अनुसार दुवै स्कुटर बजाजका छनोट गरिएका बिक्री केन्द्रबाट बुकिङ गर्न सकिनेछ।