एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख १६ : जनकपुरधाम उपमहानगरपालिका वडा नं.२ भानुचौकमा आदिकवी भानुभक्तको स्मारक पुर्ननिर्माणमा दुई समुह बिच विवाद देखिएको छ । जनकपुरधाम उपमहानगरपालिकाको बोर्ड बैठकबाट पास भएर उपमहानगरपालिकाकै बजेटमा निर्माण हुन लागेको स्मारकमा मधेशवादी दलहरु जसपा, लोसपा र जनमतका नेता कार्यक्रताहरु विरोध जनाउँदा शनिवार विहान तोकिएको शिलान्यास कार्यक्रममा तनाव उत्पन्न भएको छ ।
सो क्रममा उपमहानगरपालिकाका कर्मचारी, नेपाली कांग्रेसका नेता कार्यक्रताहरु भानु स्मारकको पक्षमा नारावाजी गरेका थिए भने ति मधेशवादी दलका नेता, कार्यक्रता र युवाहरु शिलान्यासको विरोध गरेका थिए । व्यापक सुरक्षाकर्मी र आफना नेता कार्यक्रताको सुरक्षा घेराका बिच जनकपुरधामका मेयर मनोज कुमार साहले शनिवार विहान स्मारकको शिलान्यास गर्दै सहमतीका लागि भोली सर्वपक्षिय सर्व दलिय बैठक आहवान गरिएको बताए । मेयर साहले विरोधका विच ईटा र सिमेन्ट हालेर स्मारक पुर्ननिर्माणको शिलान्यास गरि त्याहाँबाट हिडेका थिए ।

साविकको भानुचौकमा रहेको आदिकवी भानुभक्तको स्मारक गत मधेस आन्दोलनको समयमा आक्रोशित भिडद्वारा भत्तकाइएको थियो । मधेश केन्द्रित दलका विद्यार्थी संगठनहरु लोकतान्त्रिक विद्यार्थी संघ, समाजवादी विद्यार्थी संघ, विद्यार्थी जनमत संघ सहित चार विद्यार्थी संगठनहरुले भानुभक्तको स्मारक निर्माण गर्नु मधेश आन्दोलनको मर्म विपरीत रहेको भन्दै स्मारण शिलान्यास कार्यक्रमको विरोध गरेका छन् ।
विरोध गर्ने क्रममा लोसपाका नेता परमेश्वर साह, विनोद चौधरी, प्रमोद यादव, संजय चौधरी, मनिल महासेठ, जसपाका नेताहरु पुर्वमन्त्री ज्ञानेन्द्र यादव, पुर्व मेयर लालकिशोर साह, जितेन्द्र यादव सहित तिनका पार्टी निकट विद्यार्थी नेता र अगुवाहरुको उपस्थिती थियो । उनीहरुले मधेशी शहीद रमेश महतोको स्मारक निर्माण हुनुपर्ने माग अघि सारेका छन् । लोसपा धनुषा अध्यक्ष परमेश्वर साहले यहाँ रमेश महतोको स्मारकका लागि यस अघि २० लाख रुपैया समेत छुटयाइएको बताए ।

शनिबार बिहान एकातिर भानुभक्त आचार्यको स्मारक पुर्ननिर्माणका लागि शिलान्यास गरिएको छ भने अर्को तर्फ भानुचोकमा स्मारक निर्माणको विपक्षमा रहेकाहरुले चर्को नारबाजी गर्दै भानुचोक मिल्स एरिया सडक खण्ड अवरुद्ध समेत पारेका थिए । शिलान्यासपछि प्रदर्शनकारीहरुले टायर बालेर विरोध प्रदर्शन गरेका छन् ।


