एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख १६ : आज बैशाख शुक्ल नवमी, आजकै दिन जगत जननी माता जानकी प्रकट हुनुभएको स्मरणमा जानकी नवमी जनकपुरधाममा समेत धुमधामका साथ मनाइदै छ । हुन त देश भरिमै सिताराम मन्दिरहरुमा मनाइने जानकी प्राकट्य महोत्सव राजर्षि राजा जनकको मिथिलाका राजधानी जनकपुरधाममा भने विशेष रौनक छ ।
करिव एक साता देखि जनकपुरधामको सिताराम मन्दिरहरुमा विभिन्न धार्मिक अनुष्ठान जारी रहेपनि आज बैशाख शुक्ल नवमीका दिन भने बेग्लै चहलपहल र रौनक छ । तत्कालिन मिथिलाका राजा राजर्षि जनक राज्यमा खडेरी परेपछि किशानहरुको हौसला बढाउन र वर्षाका लागि ईन्द्रदेवलाई आग्रह गर्न स्वयम खेतमा हलो जोतीरहेको अवस्थामा आजकै दिन माता जानकी धर्तीबाट प्रकट हुनुभएको स्मरणमा जानकी नवमीलाई जानकी जन्मोत्सवको रुपमा श्रद्धा भक्ती पुर्वक मनाईन्छ । जनकपुरधामको जानकी मन्दिर पुजापाठ र गितगानले शुसोभित छ ।

जनकपुरधामको हरेक सिताराम मन्दिरमा धार्मिक र श्रद्धाभक्तीको माहोल रहेपनि जानकी मन्दिरमा विशेष कार्यक्रमहरु भइरहेको छ । विहानै छेउकै एतिहाँसिक दुधमती नदीमा शाही स्नानको कार्यक्रम सम्पन्न भएको छ भने माता जानकी दिउँसो १२ बजे प्रकट हुनुभएकाले मन्दिरमा प्राकट्य महोत्सव, वेलुकी डोला शोभायात्रा, साँझ दिपोत्सव र राती बधैयागान सहितका विभिन्न कार्यक्रम गरि जानकी नवमी मनाइदै छ ।
जानकी मन्दिरका सहायक महन्त रामरोशन दासका साथै जनकपुरधाम उपमहानगरपालिकाले विज्ञप्ती नै जारी गरि मन्दिरका साथै जनकपुरधाम, मिथिलाञ्चल मात्र नभई बिश्वका सम्पुर्ण हिन्दुधर्मावलम्वीहरुलाई आज साँझ दिपोत्सव गर्न आग्रह गरेको छ । यस अवसरमा विभिन्न हिन्दु धर्मका अभियानी संघ संस्थाहरुले आज जनकपुरधाममा धार्मिक रयाली निकाल्दै हिन्दुराष्ट्रको मांग गरेका छन् ।

गेरुवा रंगको झन्डा सहित जनकपुरधामको विभिन्न भाग हुदै जानकी मन्दिर पुगेका रयालीहरु जय सियारामको नारा लगाउदै नेपालमा हिन्दु राष्ट्र पुर्नस्थापना र जानकी नवमीको अवसरमा राष्ट्रिय विदाको मांग गरेका छन् । यसै अवसरमा बिश्व हिन्दु परिषद नेपाल धनुषाले जानकी मन्दिर प्राङ्गणमा अलौकिक कन्या पुजन एवं सम्मान समारोहको आयोजना गरेको छ । परिषद धनुषाका अध्यक्ष सन्तोष कुमार साहले विगत पाँच वर्ष देखि निरन्तर कन्या पुजन हुदै आएकोमा यस वर्ष ३ सय १ कन्याको पुजन भइरहेको बताए ।

उनले विधी पुर्वक कन्यापुजनका साथै कन्याहरुलाई कपि, पेन्सिल, कटर, टिफिन बक्सका साथै हलुवापुरी खाजा समेत खुवाइएको छ । मिथिलामा विवाहपञ्चमीमा जसरी माता जानकीलाई छोरीबहिनी सरह विभिन्न विधी र कन्यादान गरि भब्यरुपमा प्रत्येक वर्ष विवाह पञ्चमी महोत्सव मनाइन्छ त्यसरीनै जानकी नवमीलाई पनि अव भब्यताका साथ आफनै छोरीको जन्मोत्सव जस्तै सबै मिथिलावासी र हिन्दुहरुले भब्य रुपमा मनाउने गरि महामहोत्सवको रुप प्रदान गर्नुपर्ने र राज्यले यसलाई राष्ट्रिय पर्व र महोत्सवको रुप दिनुपर्ने ति संघ संस्थाहरुको मांग छ ।





