एसपी रिपोर्टर
जनकपुरधाम, वैशाख १३ :
जनकपुरधामको नयाँ बसपार्क स्थित स्थापना भएको श्री श्री १०८ श्री महाविर मन्दिरमा विभिन्न देवी देवताको मुर्ती स्थापनाका लागि पाँच दिवसीय धार्मिक अनुष्ठान अन्तर्गत विभिन्न विधी र पुजापाठ भइरहेको छ । माँ जानकी जनकपुरधाम यातायात प्रा.ली. द्वारा निर्माण गरिएको भब्य मन्दिरमा विभिन्न तल्लामा विभिन्न देवी देवताको मुर्ती स्थापित गर्न वैशाख ११ देखि १५ गते सम्म पाँच दिवसीय धार्मिक अनुष्ठान आयोजना गरिएको छ ।

विगत सात वर्ष देखि बन्दै निर्माण सम्पन्न भएको मन्दिरको समुदघाटनका लागि १५ गते विशेष कार्यक्रम र भब्य प्राणप्रतिष्ठाको समेत कार्यक्रम रहेको प्रा.ली.का अध्यक्ष मनोज चौधरीले बताएका छन् । वैशाख ११ गते देखि सुरु विधीहरुमा हाल सम्म कलश यात्रा, जलाधिवास, अग्निर्निवास, अनाधिवास, रुद्राभिशेष सहितका विधी सम्पन्न भएको उनले बताए ।

विहिवार पुष्पर्निवास र विशेष हवनका साथै विभिन्न विधी र पुजापाठ तथा शुक्रवार राम भद्राचार्य जी महाराजद्वारा देवी देवताको मुर्तीहरुको प्राणप्रतिष्ठा तत्पश्चात हाती घोडा पालकीमा मुर्तीहरु राखेर जनकपुरधाम नगरदर्शन र परिक्रमाका साथै मन्दिरको समुदघाटन हुने आयोजकले जनाएको छ । बागेश्वरधामबाट आइरहेका चर्चित साधु राम भद्राचार्य जी महाराजद्वारा शुक्रवार एक घण्टाको प्रवचन समेत रहेको बताइएको छ ।