एसपी रिपोर्टर
जनकपुरधाम, वैशाख ८ : दाइजो नदिएको भन्दै धनुषामा एक युवकले श्रीमतिलाई आगो लगाएर हत्या गर्ने प्रयास गरेको घटना बाहिरिएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२० देवपुरा रुपैठाकी २८ वर्षीया स्वेता झाको शरीरमा उनका श्रीमान राजिव झासहित र उनको परिवारका अन्य सदस्यहरु मिलेर आगो लगाएर हत्या गर्ने प्रयास गरेका हुन् ।
जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचार गराइ रहेकी स्वेताले श्रीमान राजिवले परिवारका अन्य सदस्यको सहयोगमा आफ्नो शरीरमा आगो लगाएर हत्या गर्ने प्रयास गरेको आरोप लगाइन् । स्वेताले आफूलाई श्रीमान राजिव, ससुरा शिवशंकर झा, सासु र देवरलगायतकाले कुटपिट गर्दै शरीरमा आगो लगाएर हत्या गर्ने प्रयास गरेको बताइन् ।
विवाह भएको १० वर्ष विति सकेको छ, उनले भनिन ‘दाइजोमा स्वीकारेको ३ तोला सुन अहिलेसम्म नदिएको भन्दै उनीहरुले मलाई विगतदेखि नै कुटपिट गर्दै आएका थिए,अहिले आगो लगाएर हत्या गर्ने प्रयास नै गरेका छन् ।’ गत वैशाख १ गते राजिवले ९ वर्षीय छोरालाई कुटपिट गरिरहँदा छोरालाई बचाउने क्रममा उनले स्वेतालाई पनि कुटपिट गर्दै आफ्नो भाइ, बुबा र आमाको सहयोगमा उनको शरीरमा आगो लगाइदिएको स्वेताको आरोप छ ।
राजिवको परिवारले आफूलाई मरनासन्न हुनेगरि कुटपिट गरेर शरीरमा आगो लगाएपनि यतिका दिनसम्म उपचारका लागि अस्पताल समेत नल्याएको उनले सुनाइन । घटनाबारे थाहा पाएपछि भारत विहारको दरभंगास्थित पोठिया माइती रहेकी स्वेताका बुबा जयकुमार झा, भाइलगायतका आफन्तले उनलाई प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गराएका छन् । स्वेताको घाँटीभन्दा तलको ३५ प्रतिशत भाग जलेको छ ।
घाइते अवस्थामा रहेकी स्वेताले श्रीमान राजिव र ससुरा पक्षले विवाहको बेला ३ तोला सुन मागेको बताइन् । त्यतिबेला बुबाले २ लाख भारतीय रुपैयाँ दिएपनि अहिलेसम्म ३ तोला सुन नदिएको भन्दै पटक पटक आफूलाई प्रताडित गर्दै आएको आरोप लगाएकी छन् । स्वेताले विवाहपश्चात् बुबाले निरन्तर राजिव र उनको परिवारलाई आर्थिक सहयोग गर्दै आएको सुनाइन् ।





