एसपी रिपोर्टर
जनकपुरधाम, चैत ३० : विहिवार भएको पहिलो सेमिफाइनल खेलमा सप्तरीलाई सजिलै पराजित गर्दै धनुषा शुक्रवार हुने उपाधि भिडन्त फाइनलमा पुगेको छ । सप्तरीलाई ३२ वल वाँकी छदै सात विकेटले सहज रुपमा पराजित गर्दै धनुषा फाइनलमा पुग्न सफल भएको छ ।
निर्माणाधिन श्री रामजानकी बहुद्देश्य अन्तराष्ट्रिय रंगशाला जनकपुरधाम १४ रजौलमा विहिवार विहान भएको पहिलो खेलमा टस जितेर ब्याटिङ्ग गरेको सप्तरी सबै ओभर खेल्दै र अलआउट समेत हुदै मात्र ७७ रनको झिनो योगफल तयार पार्न सक्यो । सप्तरीका लागि अभिशेष थापा अविजित ३४ र रोहन विके १५ वाहेक अन्य कुनै बल्लेबाज चल्न सकेन ।

धनुषाका लागि हरिशंकर साह २, शरद भेषवाकर २, कृष्ण कार्की २ र विशाल सुशलिङ्ग १ विकेट लिएका थिए । ७८ रनको लक्ष्य पछ्याउन मैदान उत्रेको धनुषा १४.४ ओभरमा मात्र तिन विकेट गुमाएर ७८ रन बनाउन सफल भएपछि फाइनलको यात्रा तय भएको हो । धनुषाको जितमा विशाल सुशलिङ्ग ३८ र हिमांशु दत्त १५ रनको योगदान दिए भने अकवर अली ११ रन जोडे ।
सतप्रीका बलरहरु विकास दास, राहुल मण्डल र पप्पु यादव एक/एक विकेट लिन सफल भए । खेलमा धनुषाका लागि १ विकेट र ३८ रन जाडेका सुशलिङ्ग म्यान अफ दी म्याच चुनिए ।

दोस्रो सेमिफाइनल खेल बारा विरुद्व कोशी प्रदेशको राजधानी विराटनगर बिच जारी छ । यस्को विजेता टिम भोली ठिक १ बजे सोहि रंगशालामा धनुषा संग उपाधिका लागि भिडने छ ।






