एसपी रिपोर्टर
जनकपुरधाम, चैत २८ : सिरहाको मिर्चैयास्थित श्री मोहन माध्यमिक विद्यालयको व्यवस्थापन समिति गठनका लागि भएको बैठकमा विवाद भएको छ । मंगलबार मिर्चैया वडा नम्बर ५ स्थित श्री मोहन नमूना माध्यमिक विद्यालयको व्यवस्थापन समिति गठनका लागि बोलाइएको बैठकमा विवाद भएपछि दिनभर अवस्था तनावग्रस्त बनेको हो ।
मिर्चैया नगरपालिकाका मेयर श्रवणकुमार यादव फेरि व्यवस्थापन समितिका अध्यक्ष बन्न खोजेको भन्दै स्थानीय अभिभावक तथा अगुवाहरूले विरोध जनाएका हुन् । यसअघि दुई–दुई पटक व्यवस्थापन समितिका अध्यक्ष भइसकेका मेयर यादव पुन: अध्यक्ष बन्न नहुने स्थानीय अगुवाहरूको तर्क छ ।

मेयर यादव, प्रधानाध्यापकलगायतले वास्तविक अभिभावकहरूसँग बैठक गरी समिति निर्माण गर्नुपर्नेमा उनीहरूले आफ्नो आसेपासेलाई समितिमा राख्न खोजेकाले विरोध गरेको उनीहरूले बताएका छन् । पछिल्लो दुई पटक अध्यक्ष बन्दा विद्यालयको गुणस्तर झन् खराब भएको पनि उनीहरूको आरोप छ । नगरपालिकाको मेयर नै विद्यालय समितिको अध्यक्ष बन्न खोज्नु गलत भएको उनीहरूको भनाइ छ ।
यता, विद्यालयका प्रधानाध्यापक अशोक यादवले गैरअभिभावकहरूको उच्छृंखल गतिविधिका कारण समिति गठन हुन नसकेको आरोप लगाउनुभयो । आफूहरूले पटक–पटक समिति गठनका लागि बैठक बोलाए पनि बैठकहरूमा गैरअभिभावकहरू आएर अवरोध श्रृजना गर्दै आएको उहाँको अरोप छ ।

प्रधानाध्यापक यादवले शिक्षाको मन्दिर विद्यालयलाई राजनीतिबाट टाढा राख्नुपर्ने पनि बताउनुभयो । त्यस्तै, मेयर यादवले मिर्चैैयामा भएको एक कार्यक्रममा आफूले यो विद्यालयका स्रोत साधनको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको र यस विद्यालयलाई नगरपालिकाकै नमूना विद्यालय बनाउने उद्देश्य लिएर जिम्मेवारी लिन चाहेको बताउनुभयो । यद्यपि, क्षमतावान कुनै व्यक्ति आए अध्यक्ष पद छोड्न तयार रहेको पनि प्रतिक्रिया दिनुभएको थियो ।
विभिन्न राजनीतिक दलका नेताहरूले मेयर यादव पुन: अध्यक्ष बन्न नहुने भनेर विरोध जनाउन विद्यालय पुगेका थिए । यसैबीच, मंगलबार विवाद भएपछि व्यवस्थापन समिति गठन कार्य पुन: स्थगित भएको छ ।





