एसपी रिपोर्टर
जनकपुरधाम, चैत २५ :
केहि दिन अगाडि गृह जिल्लाको बारा आएर महागढीमाईको पुजा दर्शन गरेका नवनिर्वाचित उपराष्ट्रपति रामसहाय यादव शनिवार जनकपुरधामको प्रसिद्व जानकी मन्दिरमा विशेष पुजा पाठ र दर्शन गरेका छन् । बुद्व एयरको विमानबाट जनकपुरधाम आएका उपराष्ट्रपति यादव सिधै जनकपुरधामको जानकी मन्दिर पुगेर आज विशेष पूजाअर्चना, दर्शन अवलोकन र प्रसाद ग्रहण गर्नुभएको छ ।

उपराष्ट्रपति यादव जानकी मन्दिरमा आइपुग्दा मन्दिरका सहायक महन्त रामरोशन दास वैष्णव सहितका साधुन्तहरुले स्वागत गर्नुभएको थियो । उपराष्ट्रपति यादवलाई सहायक महन्त दासले मन्दिरका बारेमा संक्षिप्त रुपमा जानकारी समेत गराउनुभएको थियो । उपराष्ट्रपति यादव सिरहा जिल्लामा आयोजना हुने कार्यक्रममा सरिक हुन जनकपुरधाम आउनुभएका बेलामा जानकी मन्दिरमा विशेष पूजा गर्नुभएको हो ।

उनलाई जनकपुरधाम विमानस्थलमा स्वागत गर्न प्रदेश प्रमुख हरिशंकर मिश्र, जसपाका नेताहरु मधेश प्रदेश सरकारका सामाजिक विकासमन्त्री सुरिता कुमारी साह, प्रदेशसभाका सदस्य रामअशिष यादव, पशुपती यादव, बलराम महतो, उर्मिला साह सहितको समुह पुगेको थियो । फुलमाला, गुच्छा र गम्छा सहित उनलाई विमानस्थलमा स्वागत गरिएको थियो । सो अवसरमा धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी काशीराज दहाल अन्य सुरक्षा निकायका प्रमुखहरु सहभागी हुनुहुन्थ्यो ।