एसपी रिपोर्टर
जनकपुरधाम, चैत २३ :
मधेश प्रदेशका पुर्वमन्त्री, सांसद् तथा स्थानीय जनप्रतिनिधिहरूले जनकपुरधाममा निर्माणधीन श्रीरामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशाला निर्माणमा प्रतिबद्ध रहेको बताएका छन् ।

जनकपुरधाम १४ रजौल स्थित प्रस्तावित श्री रामजानकी अन्तराष्ट्रिय बहुद्देश्य रंगशालामा बिहीबारबाट सुरु भएको मेयर कप टी–२० क्रिकेट प्रतियोगिताको उद्घाटन समारोहमा मधेश प्रदेशका पूर्वमन्त्री तथा सांसद रामसरोज यादवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधाम भ्रमणका क्रममा घोषणा गरेको रकम रंगशाला निर्माणमा खर्च गर्नुपर्ने बताउनुभयो ।

उहाँले मोदीले घोषणा गरेको सय करोड रकमको सदुपयोग हुन नसकेको भन्दै रंगशाला निर्माणमा सदुपयोगका लागि दबाब दिन पनि सबैसँग आग्रह गर्नुभयो । त्यस्तै, प्रदेश सांसद दिपेन्द्र ठाकुरले पनि रंगशाला निर्माण कार्यलाई पूर्णता दिलाउनका लागि आफू प्रतिबद्ध रहेको बताउनुभयो ।

प्रदेश सांसद रामअशिष यादवले युवा शक्तिको पलायन रोक्न र देशमा रहेका युवाहरुको सदुपयोग गर्न पनि खेलकुद क्षेत्रको विकास आवयश्क रहेको बताउदै मधेशको राजधानीमा खेल्ने रंगशाला नहुनु दु:खद रहेको बताए ।

कार्यक्रममा जनकपुरधामका मेयर मनोजकुमार साहले पनि श्रीरामजानकी बहुउद्देश्यीय रंगशाला निर्माण कार्यमा आवश्यक सबै किसिमको सहयोगको प्रतिबद्धता जनाउनुभयो । उहाँले यो रंगशालामा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको खेल आयोजनाका लागि आफूले प्रयास गरिरहेको समेत जानकारी दिनुभयो ।

त्यस्तै, श्रीरामजानकी बहुउद्देश्यीय रंगशालाका परिकल्पनाकार तथा मुख्य अभियानी दिनेश पूर्वेले जनकपुरधाममा रंगशाला निर्माणका लागि आफूले लामो समयदेखि गर्दै आएको संघर्षका विषयमा चर्चा गर्नुभएको थियो । उहाँले जनकपुरधाममा रंगशाला निर्माण हुन नदिन विगतमा षडयन्त्रहरू भए पनि सबै षडयन्त्रलाई परास्त गर्न सफल भएको पनि बताउनुभयो ।

उद्घाटन समारोहमा मठिहानी नगरपालिकाका मेयर हरि मण्डल, विभिन्न दलका नेता, अभियानी, समाजसेवी, खेलाडी लगायत सहभागी भएका थिए ।