एसपी रिपोर्टर
जनकपुरधाम, चैत २३ :
जनकपुरधाम मेयरकप २०७९ को समुदघाटन खेलमा धनुषा टिम महोतरी विरुद्व ३२ रनले विजयी भएको छ । प्रस्तावित श्री रामजानकी अन्ताराष्ट्रिय बहुद्देश्य रंगशालामा औपचारिक पहिलो प्रतियोगिताको पहिलो खेलमा टस जितेर पहिलो ब्याटिङ्ग गरेको धनुषा टिमले निर्धारित २० ओभरको खेलमा सबै ओभर खेल्दै ८ विकेटको क्षतीमा १ सय ४७ रन बनाएको थियो ।

धनुषाका लागि परशुराम यादव र हिमांशु दत्तले समान २८/२८ रन बनाएका थिए भने हरिशंकर साह २३ र सरद भेशवाकर १७ रनको पारी खेलेका थिए । महोतरीका लागि बिनोद सहनीले ३ विकेट लिएका थिए भने नितेश कुमार यादव, अभिशेष तिवारी, रमेश सहनी र नविन यादव एक/एक विकेट लिएका थिए ।

१ सय ४८ रनको लक्ष्य पछ्याउन मैदान उत्रेको महोतरी टिम सम्पुर्ण २० ओभर खेल्दै सात विकेटको क्षतीमा मात्र १ सय १५ रन जोड्न सक्यो । उनका लागि अभिशेष तिवारी सर्वाधिक ३९ रन जोडेर टिमलाई सम्मानजनक हार सम्म पुरयाउन सफल भए । १० ओभर सम्म झिनो मत जोडेको टिमलाई अभिशेषको जोडदार छक्का र चौकाले माथी उकासेको थियो ।

बिनोद सहनी २४ र मो. र्सफराज अन्सारीले २० रन बनाउँदा अन्य ब्याट्सम्यानहरु दोहोरो अंक बनाउन सकेन । धनुषाका लागि कृष्णा कार्की ३ विकेट लिएका थिए । आकाश राय, हरिशंकर साह र विक्रान्त यादव समान एक/एक विकेट लिएका थिए । आजको यस प्रतिस्पर्धाको म्यान अफ द म्याच धनुषाका कृष्ण कार्की चुनिए । भोली दुईवटा खेलहरु हुने छ जस्मा पहिलो खेल विहान ९ बजे बारा विरुद्व हेटौडा र दिउँसो डेढ बजे हुने दोस्रो खेल महोतरी विरुद्व सिरहाको हुने आयोजकले जनाएको छ ।