एसपी रिपोर्टर
जनकपुरधाम ,चैत २२ :
जनकपुरधामस्थित कुमारी बैंकको शाखाबाट चार लाख रुपैयाँ मोबाइल बैंकिङमार्फत् चोरी भएको एक ग्राहकले आरोप लगाएका छन् ।
जनकपुरधाम वडा नम्बर १९ शिवपुरका नारायण शर्माले आफूले कुमारी बैंकमा जम्मा गरेको चार लाख रुपैयाँ खाताबाट गायब भएको आरोप लगाएका हुन् । शर्मा गत फागुन २२ गते बैंकमा ४ लाख रुपैयाँ जम्मा गरेका थिए । होलीको बिदा रहेका बेला २४ र २५ गते पटक-पटक गरी खल्ती र आईएमई पे नामक बैंकिङ एप्समार्फत् रकमान्तर भएको बैंकले उपलब्ध गराएको स्टेटमेन्टमा देखिएको छ । अमितकुमार यादव नाममा रहेको खल्ती आईडी नम्बरबाट २५-२५ हजारका दरले रकम झिकिएको देखिएको छ । त्यस्तै, जनक भण्डारी बुद्धको नाममा रहेको खल्तीकै आईडीबाट पनि रकम भिकिएको छ । त्यसैगरी आईएमई पे नामक एपमार्फत् पनि रकमान्तर भएको छ । आफ्नो रकम फिर्ताका लागि बैंकले खासै ध्यान नदिएको शर्माको गुनासो छ । त्यस्तै, जिल्ला प्रहरी कार्यालयमा निवेदन दिए पनि त्यहाँबाट समेत कुनै दतारुकता नदेखाइएको उनले बताएका छन् ।
बैकले भने रकम चोरी भएको विषयमा आफूहरू अनुसन्धान गरिरहेकाले केही समय लाग्ने बताउँदै आएको शर्माले बताएका छन् । यस विषयमा बैंकका प्रबन्धकले कुनै प्रतिक्रिया दिएनन् । शर्माले ब्याजमा पैसा लिएर कुमारी बैंकमा जम्मा गरेका थिए । उनको रकम २४ र २५ गते रकम चोरी थियो । शर्माले २६ गते बैंकमा बुझ्न जाँदा खाता खाली भएको बैंकले जानकारी दिएको थियो ।





