एसपी रिपोर्टर
जनकपुरधाम, फागुन १६ :
मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री शत्रुधनप्रसाद सिंह तलदेखि माथिसम्मका निकाय गम्भीर भए मात्र विपद् जोखिम न्यूनीकरण गर्न सकिने बताउनुभएको छ । जनकपुरधाममा मंगलबार विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि संघ, प्रदेश र स्थानीय तहबीचको सहकार्य र समन्वयसम्बन्धी अन्तक्र्रियामा मन्त्री सिंहले यस्तो बताउनुभएको हो ।

उहाँले तीनवटै तहबीच समन्वय नहुँदा पनि विपद्को जोखिम न्यूनीकरणमा अपेक्षाकृत उपलब्धि हासिल गर्न नसकेको बताउनुभयो । कार्यक्रममा जनकपुरधामका मेयर मनोजकुमार साहले विपदको जोखिम न्यूनीकरणका लागि पूर्वतयारी आवश्यक रहेको बताउनुभयो । यद्यपि, पूर्वतयारीका लागि आफूहरूले गर्ने काममा समय–समयमा अवरोध हुने गरेको उहाँको भनाइ छ ।

सार्वजनिक खरिद प्रक्रिया राम्रो नहुँदा आफूहरूले दमकल किन्न असारदेखि प्रयास गर्दासमेत सफल हुन नसकेको उहाँले गुनासो गर्नुभयो । कार्यक्रममा सहभागीहरूले विपद् जोखिम न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय तहबीचमा हुनुपर्ने सहकार्यका विषयमा चर्चा गरेका थिए ।

कार्यक्रममा गृह मन्त्रालयका सहसचिव प्रदीकुमार कोइराला, प्रदेश उद्योग सचिव विशाल घिमिरे, धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, धनुषा जिल्ला समन्वय समितिका सभापति राजनन्दन मण्डललगायत सहभागी भएका थिए ।