एसपी रिपोर्टर
जनकपुरधाम, फागुन १४ : दशकौ देखि जनकपुरधामको जनकचोक स्थित जनक मन्दिर प्राङ्गणमा पत्रपत्रिका बेच्दै आएका श्रमजिवी दीपनारायण साहलाई उपचारका लागि आर्थिक सहयोग गरिएको छ । तेलि स्वजातिय जागरण अभियानीले उनलाई उपचारका लागि आर्थिक सहयोग गरेको हो ।
बिहान बिहानै साइकलमा पत्रपत्रिका बेच्दै आएका साह विगत एक महिनादेखि बिरामी छन् । उनलाई क्षयरोग लाग्नुका साथै किड्नी तथा लिभरमा समेत समस्या रहेको छ । उनको आर्थिक अवस्था अत्यन्त दयनीय रहेको र उपचारमा अभाव रहेकाले सहयोग गरिएको अभियानका सदस्य तथा जनकपुरधाम वडा नं. ३ का अध्यक्ष दिपेन्द्र कुमार साहले बताए ।
हामिले दिपनारायण जीको परिश्रम र पेशाप्रतिको लगाव देखेका छौं अभियानका अर्का सदस्य जनकपुरधाम वडा नं. ९ का अध्यक्ष परमेश्वर साहले भने, ‘उनको काम पेशा मात्र होइन समाजसेवा नै हो ।’ उनीप्रति सहानुभूति राख्दै आइतबार उनको घरमै पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिंदै तेलि स्वजातीय अभियानीहरुले २१ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।
जनकपुरधाम वडा नं. ७ का पुर्व वडा अध्यक्ष जानकी राम साह समेत युवा नेता किशन साहको उपस्थितीमा उनलाई सहयोग गरिएको हो । वडा नं. ३ का अध्यक्ष साहले दीपनारायणको स्वास्थ्य र आर्थिक अवस्था दुबै कमजोर रहेकोले जनकपुरधामवासी सँग उनलाई उपचारका लागि सक्दो सहयोग गरिदिन अनुरोध समेत गरेका छन् ।





