एसपी रिपोर्टर
जनकपुरधाम, फागुन १३ :
नेपाली कांग्रेसका नेताहरुले गान्धीवादी नेता स्व. महेन्द्र नारायण निधीको १०१ औं जन्म जयन्ती समारोहमा नआएका मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवलाई बेठुआ भन्दै टिप्पणी गरेका छन् । नेपाली कांग्रेसको आयोजनामा जनकपुरधामको महेन्द्र नारायण संस्कृती भवनको प्राङ्गणमा आयोजित समारोहका प्रमुख अतिथिको रुपमा आमन्त्रण गरिएको भएपनि मुख्यमन्त्री यादव नआएपछि कांग्रेसका नेताहरु आक्रोसित बनेका छन् ।

मधेश सरकारका पुर्व मन्त्री तथा वर्तमान सांसद राम सरोज यादवले मुख्यमन्त्रीलाई बेठुव्वा भन्दै बिना सेडुलको मुख्यमन्त्रीको संज्ञा दिएका छन् । मुख्यमन्त्री नआएपछि प्रमुख अतिथि बनेका यादवले मुख्यमन्त्री राम्रो नगरेको भन्दै स्व. निधीको आर्दश र सिद्वान्त अनुकरण गर्न छोडनुनै कांग्रेसको दुरगती भएको बताए । स्व. निधी समानता, लोकतन्त्र, समाजवाद, राष्ट्रियता र समाजिक न्याय सहितका सम्पुर्ण सिद्वान्तबाट ओतपोत व्यक्तित्व रहेको बताए ।

कार्यक्रममा कांग्रेसका नेता स्मृती नारायण चौधरीले मुख्यमन्त्री यादवको सम्पुर्ण कार्यक्रम कांग्रेसले बहिष्कार गर्नुपर्ने तर्क राखे । पार्टीको प्रमुख सचेतक कुमरकान्त झा, जनकपुरधामका पुर्व मेयर बजरंग प्रसाद साह, नेता जगत सुन्दर साह, प्रेस युनियनका उपाध्यक्ष अनिल कर्ण सहितकाले स्व. निधीको स्मरणमा बनाइएको सांस्कृतीक भवनमा प्रहरीले कब्जा गरेको भन्दै छिट्टै खाली गराएर सञ्चालनमा ल्याउनुपर्ने बताएका छन् ।

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला र प्रदेशका नेताहरुको उपस्थिती रहेको थियो । सो अवसरमा स्व. निधी सहित कांग्रेसका संस्थापक नेताहरुको प्रतिमामा पुष्प अर्पण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको छ ।