एसपी रिपोर्टर
जनकपुरधाम, फागुन १२ :
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले संघीय सरकारको बेइमानीका कारण संघीयता कार्यान्वयनमा समस्या भइरहेको आरोप लगाउनुभएको छ । जनकपुरधाममा शुक्रबार नेपाल कानुन समाजले गरेको संघ, प्रदेश, स्थानीय सरकारको प्रभावकारी समन्वय, स्थानीय सरकारको वर्तमान अवस्था र भावी रणनीति विषयक अन्तक्र्रिया कार्यक्रममा मुख्यमन्त्री यादवले यस्तो बताउनुभएको हो ।

उहाँले संघीयतालाई मजबुत बनाउने सवालमा कर्मचारीहरू पनि बेइमान देखिएको आरोप लगाउनुभयो । मधेश सरकारलाई सचिवहरूले प्रयाप्त सहयोग नगरेको पनि उहाँले आरोप लगाउनुभयो । मुख्यमन्त्री यादवले बजेट बनाउने कामका स्थानीय तहसँग समन्वय गर्ने प्रतिबद्धतासमेत जनाउनुभएको थियो ।

कार्यक्रममा मधेश प्रदेशका सांसद् रामअशिष यादवले संघ, प्रदेश र स्थानीय तहबाट आर्थिक अनुशासनको पालना हुन नसकेको टिप्पणी गर्नुभयो । आर्थिक अनुशासनको पालना गराउने तर्फ सबैले ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।

कार्यक्रममा सहभागीहरूले संघ, प्रदेश, स्थानीय सरकारबीच प्रभावकारी समन्वय हुन नसकेको बताएका छन् । उनीहरूले तीन वटै तहका सरकारबीचको समन्वयका लागि प्रभावकारी हुने ऐनहरू कार्यान्वयनमा ध्यान दिनुपर्ने बताएका छन् ।

कार्यक्रममा सहभागीहरूले संघ, प्रदेश र स्थानीय तहको समन्वयको अवस्था र चुनौती, तीनवटै तहको समन्वयमा प्रधानमन्त्री कार्यालयको भूमिका तथा स्थानीय सरकार सञ्चालन ऐनको कार्यान्वयनको अवस्था र चुनौतीका विषयमा धारणा राखेका थिए ।

कार्यक्रममा नागरिक संवाद केन्द्रकी अध्यक्ष रेखाकुमारी झा, नेपाल कानुन समाजका वरिष्ठ कार्यक्रम अधिकृत गणेशमान प्रधान, अधिवक्ता मोहन आचार्यलगायत सहभागी भएका थिए ।