एसपी रिपोर्टर
जनकपुरधाम, फागुन १२ :

मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वसन्त कुशवाहाले वितरणमुखी योजनाहरुलाई कार्यान्वयनमा नल्याउने बताएका छन् । मन्त्रालयका अधिकांश योजनाहरु वितरणमुखी रहेकाले कार्यान्वयनमा नल्याउने मन्त्री कुश्वाहाले बताएका हुन् ।
शुक्रबार आफ्नो एक महिने कार्यकालको उपलब्धि सार्वजनिक गर्दै मन्त्री कुश्वाहाले भने ‘अहिलेको रेडबुकमा अधिकांश योजना वितरणमुखी छन्, त्यस्ता योजनाहरुको अध्ययन गरिरहेका छौँ ।’ त्यस्ता योजनाहरुलाई कार्यान्वयनमा ल्याउँदैनौँ, उनले भने ‘बरु के विकल्प हुन सक्छ त्यसको खोजीमा हामी लागि परेका छौँ ।’ मन्त्री कुश्वाहाका अनुसार अहिलेको रेडबुकमा ५० प्रतिशतभन्दा बढी योजनाहरु कार्यकर्ता पाल्ने गरी ल्याइएको र त्यस्ता योजनाहरुको कुनै काम छैन ।
उनले भने, ‘अहिलेको रेडबुक हेर्नुस, त्यसमा भनिएको छ कृषि सडक, त्यसका लागि १५÷१५ लाख रुपैयाँ छुट्टयाइएको छ तर कति क्षेत्रफलमा बन्छ, चौडाई कति हुन्छ त्यो केही उल्लेख छैन् ।’ मन्त्रालयबाट तयार पारिएका डीपीआरहरु समेत कामै नलाग्ने खालको रहेको उनको भनाई थियो ।
मन्त्री कुशवाहाले मन्त्रालयबाट अधिकांश योजना अधुरो डिपिआरकै भरमा सञ्चालनमा रहेको समेत बताए । उनले त्यसता प्रोजेक्टलाई नरोक्ने तर त्यसलाई पुनः अध्ययन गरेर कसरी सही गर्न सकिन्छ त्यसतर्फ ध्यान दिने बताए ।
उनले मधेश प्रदेशमा किसानका लागि कम्तिमा ३ लाख मेट्रिक टन मलको आवश्यक्ता रहेकोमा १ लाख मेट्रिकटन मल मात्रै औषत रुपमा पाईरहेको जानकारी दिए । आउने आर्थिक वर्षदेखि मधेसका किसान अढाई लाख मेट्रिकटन मल पाउने उनले बताए । अपुग मलको व्यवस्थापन प्रदेश सरकारको बजेटबबाट व्यवस्थाप गर्ने उनले प्रीतवद्धता समेत व्यक्त गरे । यसका साथै प्रदेश सरकार अर्गेनिक मलका लागि समेत पहल गरिरहेको मन्त्री कुश्वाहाले जानकारी दिए ।