एसपी रिपोर्टर
जनकपुरधाम, फागुन ९ : धनुषामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन लागिएको छ । हात्तीपाइले रोगको प्रकोप बढ्दै गएपछि प्रतिरोधात्मक औषधि घर–घरमा गएर खुवाइने व्यवस्था गरिएको हो । फागुन ११ गतेदेखि स्वास्थ्यकर्मीहरू घरघरमा पुगेर ३ वर्षदेखि माथि उमेरका सबैलाई उचाइ, वजनअनुसार औषधि खुवाइने जिल्ला स्वास्थ्य कार्यालय धनुषाले जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय धनुषाका स्वास्थ्य अधिकृत शिवजी दासले दुई वर्ष मुनिका बालबालिका, गर्भवती महिला, ७ दिनसम्मका सुत्केरी, छारे रोगी, सिकिस्त बिरामी तथा २४ घण्टा अगाडी ज्वरो आएका व्यक्तिले मात्र औषधि खान नमिल्ने जानकारी दिए ।

आगामी चैत महिनामा घर–घरमा गएर म्यापिङ्ग गरि रोगको वास्तविक तथ्यांक संकलन गरिने उनले बताए । महोत्तरीमा हात्तीपाईले रोगको विरामी फेला परेपछि धनुषामा समेत औषधि खुवाउने अभियान सञ्चालन गर्न लागिएको हो । हात्तीपाइले रोगको धेरैजसो संक्रमण लक्षण विनाको हुन्छ भने पछि गएर अङ्ग सुनिने पनि गर्दछ ।





