एसपी रिपोर्टर
जनकपुरधाम, फागुन १ :
उपराष्ट्रपति नन्द बहादुर पुनले जनयुद्ध दिवसको अवसरमा सरकारले सार्वजानिक बिदा दिएर जनयुद्व प्रति सम्मान प्रकट गरेको बताएका छन । सोमवार जनयुद्ध दिवसको अवसरमा मधेस प्रदेशले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली राजनीतिमा जनयुद्धले पुर्‍याएको उच्चतम योगदानको सम्मान गर्नकै लागि सरकारले सार्वजानिक विदा दिएको बताएका छन् ।

सरकारले बिदा दिनु गणतन्त्र प्राप्तिका लागि बगेको रगत र पसिनाको सम्मान समेत भएको उनले बताए । बिदालाई लिएर पूर्वाग्रह राख्नेहरुले जेसुकै भनेपनि संघीय सरकारले सार्वजनिक बिदा दिनुअघि नै मधेश, वागमती र कर्णाली प्रदेश सरकारले सार्वजनिक बिदा दिएर जनयुद्ध दिवस मनाउने तयारी गरेको स्मरण समेत गराए ।

सो कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले अहिलेको संघीयता कसैले दिएको भिख नभएको टिप्पनी गरेका छन् । उनले अहिलेको संघीयता आम नागरिकले लडेर आफनै बलबुतामा ल्याएकाले संघियताको रक्षा पनि जनताले नै गर्ने समेत बताए ।

मधेश प्रदेश प्रमुख हरिशंकर मिश्रले शहिदको सपनालाई बिपना बनाउने काम राजनितिक दलको भएको र त्यसले जनताको समेत मांग सम्बोधन हुने बताए । वक्ताहरुले मधेश प्रदेशमा नागरिक रहे सम्म संघीयता रहीरहने दाबी गरे ।

जनयुद्ध दिवसको अवसरमा मधेस प्रदेश सरकारले ५ सय ४० जना शहीद परिवारलाई एक लाख रुपैयाका दरले रकम हस्तान्तरण गरेको छ । कार्यक्रममा मधेशका सभामुख रामचन्द्र मण्डल, सरकारका मन्त्रीहरु, सांसदहरु सहितको उपस्थिती थियो ।