एसपी रिपोर्टर
काठमाण्डौं, माघ २६ : नेकपा माओवादी केन्द्रले पार्टीको नाम र चुनाव चिह्न फेर्ने निर्णयमा पुगेको छ । १२ देखि २१ माघ सम्म चलेको माओवादीको स्थायी कमिटी बैठकका प्रचण्डले नाम, चुनाव चिह्न र पार्टीको संरचनामा आमूल परिवर्तन गर्ने प्रस्ताव गरेका थिए । जसलाई स्थायी कमिटीले अनुमोदन गरेको थियो ।
प्रचण्डले प्रस्तावमा भनेका थिए, ‘संरचनागत, विधि र पद्धति, नाम र चिह्न लगायतका विषयलाई आमूल परिवर्तन गर्दै आजको जनमनोविज्ञान, भू–राजनीतिक व्यवस्थालाई एवं प्रतिस्पर्धा समेत ध्यानमा राखी सुदृढ र व्यवस्थित कम्युनिष्ट पार्टी निर्माणमा लाग्नुपर्छ ।’ माओवादी केन्द्रका कार्यालय सचिव डोरप्रसाद उपाध्यायले अध्यक्ष प्रचण्डले पार्टीको नाम, चुनाव चिन्ह र संरचना परिवर्तन गर्नेगरी प्रस्तुत राजनीतिक प्रस्ताव बैठकले पारित गरेको जानकारी दिए ।
यस्को मतलव गत निर्वाचनहरुको समिक्षा गर्दा माओवादीले हालको चुनाव चिन्ह नफापेको र पार्टीको नामबाट माओवादी शब्द पनि हटाउदा अहिलेको सन्दर्भमा उत्तम हुने निश्कर्षमा पुगेको हुनुपर्दछ । स्रोतका अनुसार पार्टीको नाम समाजवाद शब्द सहितको गरेर डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, माधव नेपाल सहितका नेताहरुको नेतृत्वमा रहेको पार्टीहरुलाई यसमै गाभ्ने प्रचण्डको रणनिती हुनुपर्दछ ।
यसका लागि पार्टीभित्र प्रारम्भिक चरणमा तीन महिनाको लागि कार्यक्रम प्रस्ताव गरेका छन् । प्रस्तावमा प्रचण्डले विचार, सिद्धान्त र व्यवहार मिल्नेहरूसँग पार्टी एकता गर्ने र तत्काल एकता सम्भव नभएका वापमन्थी प्रगतिशील शक्तिहरूसँग सहकार्यका लागि मोर्चा निर्माण गर्ने प्रस्ताव अगाडि सारेका छन् ।
