एसपी रिपोर्टर
जनकपुरधाम, माघ १४ : शनिबार पत्रकार सम्मेलनको आयोजना गरि धनुषा प्रहरीले पेस्तोलसहित पक्राउ परेका धनुषाको मिथिला नगरपालिका वडा नम्बर–६ बस्ने २८ वर्षीय रोशन महतो र सोही ठाउँ बस्ने ३६ वर्षीय शंकर महतोलाई सार्वजनिक गरेको हो ।
ईलाका प्रहरी कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको संयुक्त प्रहरी टोलीले उनीहरुलाई मिथिला नगरपालिका वडा नम्बर–२ नक्टाझिझस्थित विश्वकर्मा चोकबाट पक्राउ गरेको धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।
बिहीबार राति करिब ८ बजेको समयमा मिथिला नगरपालिका–२ विश्वकर्मा चोकमा एक पुरुष पेस्तोल बोकेर गईरहेको गोप्य सुचनाको आधारमा खटेको प्रहरी टोलीले रोशनलाई शंकास्पद अवस्थामा पक्राउ गरेको थियो ।
शंकाको आधारमा महतोलाई चेकजाँच गर्दा उनको साथबाट ग्रिपको बिच भागमा पहेलो रंगको पाँच कोण भएको धातुको तारा आकारको चित्र अंकित माउजर पेस्तोल १ थान, पेस्तोलमा लोड गरिएको म्याग्जिन १ थान र म्याग्जिनमा लोड भएको केएफसेभेन प्वाइन्ट सिक्स फाइभ उल्लेख भएको गोली २ थान बरामद भएको थियो ।





