एसपी रिपोर्टर
जनकपुरधाम, माघ १२ : मधेश प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री सरोज यादवले संघीयताको रक्षाका लागि सबैको सहयोग आवश्यक रहेको बताउनुभएको छ । जनकपुरधाममा बिहीबार श्रीपञ्चमीको अवसरमा अक्षर विद्या मन्दिरमा भएको एक कार्यक्रममा मन्त्री यादवले संघीयताको रक्षा गर्न सबैको सहयोग अपरिहार्य रहेको बताउनुभयो ।
उहाँले यही हप्ताभित्र मधेश सरकारले पूर्णता पाउने पनि दाबी गर्नुभयो । मधेशका युवाहरू दुव्र्यसनीमा फस्ने गरेकोमा उहाँले चिन्ता पनि व्यक्त गर्नुभयो । मन्त्री यादवले विगतमा मधेश सरकारले गरेको कमी कमजोरीलाई सुधार गरी आफूहरू अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो । विगतको सरकारले गरेका राम्रा कामलाई निरन्तरता दिने पनि उहाँले बताउनुभयो ।
मन्त्री यादवले मधेश प्रदेशका विद्यार्थीहरू आफ्नो प्रदेश छाडेर अन्यत्र जाने गरेको प्रति चिन्ता जनाउनुभयो । उहाँले मधेश प्रदेश शिक्षाको क्षेत्रमा राम्रो हुँदै गएको पनि बताउनुभएको थियो ।





