एसपी रिपोर्टर
जनकपुरधाम, माघ १२ :
धनुषामा ट्राफिक नियम पालना नगरेको आरोपमा एकै दिन सैयौं मोटरसाइकल र चालक किशोरहरु पक्राउ परेका छन् । धनुषामा मोटरसाइकल र चालक उपर कारबाही अभियानलाई पनि तिव्रता दिइएको छ ।

धनुषा जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयले सुरु गरेको सप्ताहव्यापी अभियानको पहिलो दिन बिहिवार १ सय ६४ वटा मोटरसाइकल र १ सय २७ जना चालकहरुलाई नियन्त्रणमा लिइएको छ ।

सवारी चलाउने बेलामा अनिवार्य राख्नु पर्ने कागजातहरु लाइसेन्स, बिलबुक सहितका नबोेकेको सवारी चालकहरुलाई पक्राउ गरिएको छ । त्यसैगरि भिडभाडमा तीव्रगतिमा गाडी चलाउने, हेलमेट नलगाउने, मोटरसाइकलमा दुईजना भन्दा बढि सवार भएको सहितको ट्राफिक नियम विपरीत काम गर्नेहरुलाई पक्राउ गरिएको छ ।

विहिवार पक्राउ पर्नेहरुमा अधिकांश किशोर, युवा तथा विद्यार्थीहरु रहेका छन् । चालकले गरेको कसुर अनुसारको जरिवाना लिएर सवारी साधन अभिभावकलाई जिम्मा लगाइने समेत धनुषा प्रहरीले जनाएको छ ।