एसपी रिपोर्टर
जनकपुरधाम, माघ ५ :
बिहीबार १६ औं बलिदानी दिवस । मधेशी शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरी विभिन्न ठाउँमा मनाइएको छ । २०६३ माघ ५ गते सिरहाको लहानमा रमेश महतो शहीद भएको दिनको सम्झनामा हरेक वर्ष यस दिन बलिदानी दिवस मनाउने गरिन्छ । यसैक्रममा मधेश सरकारले पनि बलिदानी दिवस मनाएको छ ।

कार्यक्रममा सहभागीहरूले मधेशमा तीन पटक भएको आन्दोलनका क्रमका शहादत दिएका शहीदहरूको तस्विरमा पुष्पअर्पण गरी श्रद्धासुमन व्यक्त गरेका थिए । कार्यक्रममा मधेश प्रदेशका बिनाविभागी मन्त्री संजय यादवले मधेशी शहीदहरूको शहादतकै बलमा देशमा संघीयता आएको बताउनुभयो । उहाँले शहीद परिवारका लागि आवश्यक थप काम गर्न मधेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

मन्त्री यादवले मधेश शहीद प्रतिष्ठानलाई अरु व्यवस्थित गर्नुपर्ने बताउनुभयो । उहाँले लहानमा मधेश शहीद म्युजियम स्थापना गर्न लागेको जानकारी दिनुभयो । कार्यक्रममा मधेश आन्दोलनका शहीद परिवारलाई सम्मान गर्दै प्रति शहीद परिवार २–२ लाख रुपैयाँ दिइएको छ । ६१ शहीद परिवारलाई रकम सहयोग गरिएको हो । त्यस्तै, एक जना घाइतेलाई पनि २ लाख रुपैयाँ सहयोग गरिएको छ ।

२०६३ मा अन्तरिम संविधानमा संघीयतालगायतका विषय नसमेटिएपछि तत्कालीन मधेशी जनअधिकार फोरम नेपालका संयोजक उपेन्द्र यादव लगायतका नेताहरूले अन्तरिम संविधानको प्रतिलिपि जलाएका थिए । लगतै उनीहरूलाई पक्राउ गरिएपछि मधेशका विभिन्न ठाउँमा विरोध भएको थियो ।

त्यसैक्रममा सिरहाको लहानमा गरिएको चक्काजामका क्रममा माओवादी कार्यकर्ताले चलाएको गोली लागेर विद्यार्थी रमेश महतोको मृत्यु भएको थियो । यही घटनालाई लिएर मधेश आन्दोलन सुरु भएको थियो । बलिदानी दिवसको अवसरमा मधेश प्रदेशमा बिहीबार सार्वजनिक बिदा पनि दिइएको छ ।