एसपी रिपोर्टर
जनकपुरधाम, पुष २७ :
मधेश प्रदेशको दोस्रो मुख्यमन्त्रीमा निवर्तमान सभामुख जसपाका सांसद सरोज कुमार यादव नियुक्त भएका छन् । बारा निर्वाचन क्षेत्र नं. १ को ‘ख’ बाट जसपा नेपालबाट प्रत्यक्ष निर्वाचित सांसद यादव मधेश प्रदेशको दोस्रो मुख्यमन्त्री हुन सफल भएका छन् । यस अघिको पाँच वर्षिय कार्यकालमा उनी सभामुख थिए ।

दावी प्रस्तुत गर्ने क्रममा कांग्रेसका सांसद शेष नारायण यादवको समेत प्रदेश प्रमुख निवासको प्राङ्गणमा उपस्थिती थियो । जसपा मधेश प्रदेशका अध्यक्ष रामबाबु यादवसंग कुराकानी र फोनमा अन्य कतै कुराकानी र समन्वयको रोलमा देखिएका उनको उपस्थितीले संघिय सरकारमा जस्तै कांग्रेस मधेशमा पनि सरकारलाई समर्थन गर्न सक्ने संकेत देखिएको छ ।

मधेशमा कांग्रेसका कुल २२ सांसद मध्ये एक समुह यादवलाई मुख्यमन्त्रीमा बिश्वासको मत दिनुपर्ने अभियानमा सक्रियता थालेका छन् । सो समुहले मुख्यमन्त्री यादवलाई समर्थन गरेर सरकारसंग गुड फेथमा बस्ने र आधा कार्याकाल पछि आफनो नेतृत्वमा सरकार नभए जसपाका यादवलाई नै निरन्तरता दिने गरि राणनिती तय गर्ने स्रोतको दावी छ ।