एसपी रिपोर्टर
जनकपुरधाम, पुष २५ :
जसपा नेपाल पार्टीको मधेश संसदिय दलको नेतामा सरोज कुमार यादव सर्व सम्मत चयन भएका छन् । मधेश प्रदेशसभाका निवर्तमान सभामुख समेत रहेका यादव बारा जिल्लाबाट प्रत्यक्ष निर्वाचित सांसद हुन ।

२०७४ सालमा राजपाबाट निर्वाचित भएर सांसद र सभामुख बनेका उनी जसपा फुटदा उपेन्द्र यादव नेतृत्वको जसपानै रोजेका थिए । यस पटक भने उनी जसपाबाट चुनाव जितेका हुन । उनलाई संसदिय दलको नेता बनाउन तत्कालिन राजपा छोडेर जसपा रोजेका र हाल सांसद रहेकाहरुले समेत समर्थन गरेको चर्चा भइरहेको छ ।

दलको नेतामा वतर्मान मुख्यमन्त्री लालबाबु राउत र यादवको उम्मेदवारी परेको थियो । तर पछि राउत र यादव बिच भएको वान टु वान वार्तामा सहमती जुटेपछि राउतले यादवलाई समर्थन गरेका हुन । उनीहरु दुईजना बिच मुख्यमन्त्रीको आवासमा छलफल भएको थियो । संसदिय दलको नेता भएका यादव मुख्यमन्त्री बन्ने प्रवल सम्भावना छ ।

नयाँ सत्तागठबन्धनमा मधेशको मुख्यमन्त्रीमा जसपा र जनमतले पालैपालो पाउने र पहिलो जसपाले पाउने सहमती जुटिसकेको छ । सभामुखमा एमाले र उपसभामुख भने जनमतले पाउने भएका छन् ।