एसपी रिपोर्टर
जनकपुरधाम, पुष १५ : प्रदेशको दोस्रो कार्यकालका लागि मधेश प्रदेशसभाका नव निर्वाचित सांसदहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । शुक्रवार प्रदेशसभाको सभाहलमा सपथ लिनपर्ने कुल १ सय ६ जना मध्ये २ जना वाहेक १ सय ४ जना प्रदेशसभा सदस्यहरु विभिन्न ९ वटा भाषामा सभाका ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेबाट सपथ ग्रहण गरेका छन् ।

यस अघि विहिवार सभाका ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले पद तथा गोपनीयताको शपथ प्रदेश प्रमुखबाट लिइसकेका छन् । सपथ ग्रहण पछि बोल्ने हरेक दलका सांसदहरुले विकास, शिक्षा, स्वास्थ्य, कृषि र रोजगारका लागि आफुहरु पहलकदमी लिने बताए । कतिपय सो क्षेत्रहरुको विकासका लागि आवश्यक ऐन कानुन निर्माणमा भुमिका खेल्ने बताए ।

सपथ ग्रहणमा ५६ जनाले नेपाली, १३ जनाले बज्जिका, १२ जनाले मधेशी, ११ जनाले मैथिली, ७ जनाले भोजपुरी, ३ जना थारु, २ जना मगही, २ जनाले हिन्दी र १ जनाले उर्दु भाषामा सपथ ग्रहण गरेका छन् । सपथ लिनपर्ने १ सय ६ मध्ये माओवादीका दुई सांसद सपथ ग्रहण गर्न पाएनन् । उनीहरू दुबैजना प्रदेशसभा सदस्यमा निर्वाचित भएको घोषणा गर्ने लगायतको बाँकी निर्णय र काम कारवाही कार्यान्वयन नगरी यथास्थितीमा राख्न सर्वोच्च अदालतबाट निर्णय भएकोले शपथ ग्रहणबाट बञ्चित गरिएको हो ।

समानुपातिक सांसदद्वय मालाकुमारी कर्ण र मो. रजी हैदर प्रदेशसभा सदस्यमा निर्वाचित भएको घोषणा गर्नेलगायतको बाँकी निर्णय र कामकारवाही कार्यान्वयन नगरी यथास्थितीमा राख्ने सर्वोच्च अदालतबाट मंसिर २९ गतेको अल्पकालिन अन्तरिम आदेश जारी भएकोले ति दुबैजनाको शपथग्रहण सम्बन्धी कार्य हाललाई स्थगित गरिएको प्रदेश सभा सचिवालयका निम्ति सचिव रञ्जित यादवले जानकारी दिए । सांसदद्वय मालाकुमारी कर्ण र मो. रजी हैदर बिच पार्टीभित्र मर्यादाक्रमको विवादका कारण सर्वोच्च अदालतमा मुद्दा दायर गरिएको छ ।

















