एसपी रिपोर्टर
जनकपुरधाम, पुष १४ :
स्वतन्त्र सांसद प्रभु साहले गठन गरेको आम जनता पार्टीमा आफ्नो नाम राखेको भन्दै अर्का स्वतन्त्र सांसद किरण साहले आपत्ति जनाउनुभएको छ । रौतहट क्षेत्र नं. २ बाट स्वतन्त्र सांसद जितेका किरण साहको नाम प्रभु साह नेतृत्वको विहिवार घोषित नयाँ पार्टीको संसदीय विभागमा राखिएको छ । त्यसप्रति सांसद साहले आपत्ति जनाएका हुन् ।

उनले आम जनता पार्टीमा आफ्नो नाम आफूलाई सोध्दै नसोधी राखेको बताउनुभयो । आफूलाई आम जनता पार्टीसँग कुनै सरोकार नरहेको बताउँदै उनले त्यो पार्टीमा आफ्नो नाम राखेर बदनाम गर्न खोजेको बताए । आफू तत्कालै कुनै दलीय राजनीति नगर्ने समेत उनले बताए ।

प्रभुको नयाँ ‘आम जनता पार्टी’

नेता प्रभु साहले आम जनता पार्टी गठन गर्नुभएको छ । रौतहट क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र रूपमा निर्वाचित नेता साहले आम जनता पार्टी गठन गर्नुभएको हो । बिहीबार काठमाडौंमा भएको भेलाले साहको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय तदर्थ समिति गठन गरेको छ ।

बैठकले प्रदेशका अध्यक्ष र इन्चार्ज पनि तोकेको छ । जस अनुसार प्रदेश १ अध्यक्षमा हरिप्रसाद पोखरेल र इन्चार्जमा रामप्रित पासवान, मधेशको अध्यक्षमा श्रीचन मुखिया र इन्चार्जमा उपेन्द्र साह, बागमतीको अध्यक्षमा नाम्गेल मोक्तान र इन्चार्जमा बद्री न्यौपाने रहेका छन् ।

त्यस्तै गण्डकीको अध्यक्षमा राजन यादव ‘मनोज’ र इन्चार्जमा बद्री न्यौपाने, लुम्बिनीको अध्यक्षमा परमानन्द वर्मा र इन्चार्जमा रीतादेवी यादव, कर्णालीको अध्यक्षमा सियाराम कुशवाहा र इन्चार्जमा उपेन्द्र साह र सुदूरपश्चिमको अध्यक्षमा केशव राय चौधरी र इन्चार्जमा कुन्दन कुशवाह रहेका छन् । पार्टीको जनवर्गीय संगठन पनि स्थापना गरिएको छ ।

जसमा आईटी आर्मीको अध्यक्षमाम चन्द्रभुषण साह र इन्चार्जमाम प्रभु साह, आम दलित मोर्चाको अध्यक्षमा चन्देश्वर बैठा र इन्चार्जमाम रामप्रित राम, आम महिला मोर्चाको अध्यक्षमा कान्ति महतो र इन्चार्जमा करिमा बेगम, आम विद्यार्थी मोर्चाको अध्यक्षमाम विवेक साह र इन्चार्जमाम उमेश कुशवाहा तथा आम किसान मोर्चाको अध्यक्षमाम किताब तामामङ र इन्चार्जमा कुन्दन कुशवाहा रहेका छन् । गत मंसिर ४ गतेको चुनाव अघि एमाले परित्याग गरेका साहले बिहीबार छुट्टै पार्टी बनाउनुभएको हो ।