एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर १९ : धनुषा क्षेत्र नम्बर ३ कि सांसद् जुली महतोले जनकपुरधामस्थित रामस्वरूप रामसागर बहुमुखी क्याम्पसको अनुगमन गर्नुभएको छ । नवनिर्वाचित सांसद् महतो आइतबार राराब क्याम्पसका विभिन्न कक्षाकोठा तथा प्रयोगशालाको निरीक्षण गर्नुभएको हो । त्यसक्रममा उहाँले क्याम्सपमा भएका भौतिक संरचनाको अवस्थाबारे क्याम्पस प्रमुखसँग जानकारी लिनुभएको थियो ।
अनुगमनपछि सञ्चारकर्मीसँग कुरा गर्दै सांसद महतोले देशको धरोहरका रूपमा रहेको राराब क्याम्पस भौतिक रूपमा जीर्ण भए पनि राज्यको ध्यान पुग्न नसकेको भन्दै दुःख व्यक्त गर्नुभयो । उहाँले विभिन्न क्षेत्रका चर्चित व्यक्तिहरूले यही क्याम्पसबाट अध्ययन गरेको भए पनि क्याम्पसको अवस्था सुधारमा कसैले ध्यान नदिएको टिप्पणी गर्नुभयो । क्याम्पसको भौतिक संरचनाका साथै विद्यार्थीहरूको आवश्यकता पूरा गर्न तीनवटै सरकारले चासो दिनुपर्ने उहाँको भनाइ छ ।
सांसद् महतो यो क्याम्पसका विविध पक्षमा सुधारका लागि आफूले हरसम्भव प्रयास गर्ने पनि प्रतिबद्धता जनाउनुभएको थियो । अनुगमनका क्रममा क्याम्पस प्रमुख प्रदीपकुमार प्रसादलगायत प्राध्यापकहरू उपस्थित थिए ।





