एसपी रिपोर्टर
जनकपुरधाम, कातिक ११ : विशेषत: मिथिलाञ्चलमा मनाइने महान पर्व छठको तयारी तिब्र छ । जनकपुरधाममा प्राथमिकता र भब्यताका साथ मनाइने छठ पर्वका लागि एतिहाँसिक सरोबरहरु गंगासागर, धनुषसागर, अरगज्जा पोखरी सहितकालाई दुलही झै सजाउने काम भइरहेको छ । जनकपुरधाममा छठ पर्वको तयारी धमाधम भइरहेको छ । गत केहि वर्षहरु कोरोना कहरका कारण प्रभावित छठपर्व यस वर्ष भब्य हुने देखिन्छ । भब्य छठपुजाका लागि प्रख्यात प्रदेश २ को राजधानी जनकपुरधामको मुख्य सरोबरहरु गंगासागर, धनुषसागर, अरगज्जा पोखरी, दशरथ तलाउ सहित यस क्षेत्रका पोखरी, नदीनालाहरुमा सरसफाई र रात्री विश्रामका लागि व्यवस्थापनको काम भइरहेको गंगासागर छठपुजा समिति, जनकपुरधामका कोषाध्यक्ष मोहन कुमार राय बताउछन् ।

जनकपुरधामको यस सरोबरहरुमा लाखौंको संख्यामा ब्रतालु, दर्शनालुहरुको भिडभाड लाग्ने गर्दछ । मुख्यत चारदिवसीय छठ पर्वको पहिलो दिन शुक्रवार ब्रतालुहरु नुहाएर मात्र खानेछिन् । शनिवार पञ्चमीका दिन ‘खरना’ विधी मनाइने छ । षष्ठीका दिन आइतवार बेलुकी अस्ताउदो र सोमवार विहान उदाउदो सुर्यलाई अर्घ दिन जनकपुरधामका पोखरी, तलाउ र सरोबरहरुलाई दुल्हीझै सजाइदै छ । छठ पर्व गर्ने ब्रतालुले ‘खरना’ विधिका दिन दिनभरि उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सख्खर, दूध र चामलको खीर पकाइ घरदेउता कोठामा केराको पातमा राखेर छठी मातालाई चढाउने गरिन्छ । त्यसपछि ब्रतालु र परिवारका अन्य सदस्यले प्रसादको रुपमा खाने गर्छन् । खरना विधिको सोहि प्रसाद ग्रहण पछि ब्रतालुहरुको निरन्तर ३६ घण्टाको उपवास पुन: सुरु हुन्छ ।

पर्वको तेस्रो दिन सूर्य उपाशनाको निराहार ब्रत बसेर ब्रतालुले जलाशयमा पुगेर अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य दिनेछन् । यसलाई मिथिला क्षेत्रमा ‘सझुका अरघ’ भन्ने गरिएको छ । त्यसैगरी सप्तमीका दिन बिहान ब्रतालुले उदाउँदा सूर्यलाई दोस्रो अघ्र्य दिएर पर्व समापन गर्ने मैथिल चलन छ । यसलाई मिथिलामा ‘भोरका अघ्र्यका साथै पारन भन्ने गरिन्छ । खर्ना विधि घरमै मनाइने भएपनि जलाशय, पोखरी, तालतलैया र सरोबरको घाटमा गरिने ‘सझुका अरघ’ र पारनका लागि ति स्थलहरुलाई दुलही झै सजाइदै छ । छठ पर्व भव्यताका साथ मनाउन अहिले नदी, तलाउ तथा पोखरी सरसफाइको कामलाई तीब्रता दिइएको छ । साथै, जलाशयहरू सफा गरी घाट निर्माण तथा सजावटको काम पनि भइरहेको अरगज्जा पोखरीको व्यवस्थापन गर्ने मिथिला समाज सेवा समितिका अध्यक्ष जितेन्द्र कुमार साहले बताए ।

जनकपुरधाममा पनि पूजा समितिहरूको नेतृत्वमा पोखरी तथा जलाशयहरू सरसफाइ गरिँदैछ । समितिहरुका अनुसार गत वर्षको तुलनामा यस वर्ष र्वतालु र दर्शनालुहरुको संख्यामा वृद्वि हुने छ । जनकपुरधाममा मनाइने छठपर्व देश विदेशमा समेत चर्चित रहेको छ । समितिहरुका अनुसार प्रत्येक वर्ष गंगासागरमा ५ हजार र धनुष सागरमा ३ हजार ५ सय गरि इ दुईवटा सरोबरमा मात्र करिव १० हजार अर्घको व्यवस्थापन गरिन्छ । साथै नगरभित्र जानकी मन्दिर छेउकै अर्को मुख्य सरोबर अरगजा पोखरीमा मात्र पनि करिव १ हजार परिवारको अर्घ राख्ने व्यवस्था मिलाइएको हुन्छ । जनकपुरधाम स्थित मुख्य सरोबरहरु गंगासागर, धनुषसागर, अरगजा पोखरी, दशरथ तलाउ, गोरधोई पोखरी रुकमिनीसर सहित विभिन्न सरोवरहरूको सफाई गर्नुका साथै टेन्ट, पण्डाल, विद्युतीय वती जडान गरी सजाउने काम भइरहेको छ ।

छठपर्वको तयारीमा जुटेका विभिन्न सरोवरस्थित छठ पूजा आयोजक समितिहरूले प्रत्येक वर्ष जस्तै यस वर्षसमेत सरोबरहरूलाई सजाउने र व्रतालुहरूका लागि सुरक्षित पूजा स्थल अर्थात घाट निर्माण भइरहेको जनाएका छन् । पर्वमा प्रसादका रुपमा स्थानिय प्राकृतीक स्रोत साधानबाट बनाइने ठकुवा, भुसुवा, उखु, केला, सहितका मिष्ठान्न परिकारहरुका लागि सामानहरु जुटाउन बजारमा स्थानियको भिडभाड लागेको छ । जनकपुरधाम सहित मिथिलाञ्चल, तराई मधेसमा मुख्यत: मनाइने छठ पछिल्लो समय काठमाडौंसहित पहाडी र हिमाली क्षेत्रमा समेत मनाउन थालिएको छ । छठ पर्वमा बनाइएका प्रसाद ठकुवा, भुसुवासहितका मिष्ठान्न परिकार इष्टजनलाई घरमै बोलाएर खुवाउने र आफन्त नातेदारकहाँ प्रसाद पुर्याउन जाने परम्परा छ ।






