मधेश प्रदेशमा प्रदेशस्तरीय मधेश रक्त सञ्चार सेवा सुरु


एसपी रिपोर्टर
जनकपुरधाम, असोज ९ :
मधेश प्रदेशमा प्रदेशस्तरीय ब्लड बैंक अर्थात ‘मधेश रक्त सञ्चार सेवा’ को स्थापना भएको छ ।
आइतबार सामाजिक विकासमन्त्री नवलकिशोर साहले मधेश जनस्वास्थ्य प्रयोगशाला मातहत रहेको मधेश रक्त सञ्चार सेवाको उद्घाटन गर्नुभएको हो । जनकपुरधामको मुजेलियामा स्थापना गरिएको यो बैंकमा १५ सय युनिट ब्लड भण्डारण गर्न सक्ने क्षमता रहेको छ । यो बैंकले एक यूनिट रगतबाट चार युनिट रगत बनाउने काम पनि गर्नेछ । एक युनिट रगतबाट प्लाज्मा, प्लेटलेट, फ्याक्टर एट र प्याक्ट आरवीसी छुट्टाछुट्टै निकाल्ने यो बैकको मुख्य काम रहनेछ । उद्घाटन कार्यक्रममा मन्त्री साहले यो ब्लड बैंकको स्थापनाले एक जनाको रगतबाट तीन जनासम्मको ज्यान बनाउन सकिने बताउनुभयो।
त्यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी अतिरिक्त स्वास्थ्य सचिव डाक्टर संगीता कौशल मिश्रले ब्लड डोनरमा जनचेतना जगाउनुपर्ने बताउनुभयो । उहाँले रगतको प्रयोगका विषयमा जानकारी दिनुपर्ने पनि बताउनुभयो ।
यहांबाट उपलब्ध हुने रगतमा ब्लड ट्रान्सफ्युजनबाट हुने रिएक्सन नहुने पनि जनाइएको छ । साथै, यो बैंक ब्लड ट्रान्सफ्युजनबाट हुने रिएक्सनको चेकजांच गर्ने पहिलो सरकारी संस्था पनि बनेको छ । कार्यक्रममा मधेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख डाक्टर श्रवणकुमार मिश्रले देशका कुनै पनि स्थानमा ब्लड ट्रान्सफ्युजनवाट हुने रिएक्सनको कारण पत्ता लगाउने कार्य आफूहरूले गर्ने बताउनुभयो ।
कार्यक्रममा जनकपुरधामका प्रमुख मनोज साहले प्रदेशस्तरीय ब्लड बैंकको स्थापना मधेशको स्वास्थ्य क्षेत्रका लागि महत्वपूर्ण उपलब्ध भएका बताउनभयो ।
कार्यक्रममा वरिष्ठ कन्सल्टेन्ट हेमातोलोजिष्ट डाक्टर उदयकान्त झाले रगतको कमी र गुणस्तरीय रगतको कमीका कारण हुने मृत्यु दर रोक्न यो बैंकले सहयोग पुयाउने बताउनुभयो । नेपाल एक हजार जनामा मात्र ५-६ जनाले रक्तदान गर्दै आएको भन्दै उहाँले रक्तदानमा जागरुकता आवश्यक रहेको पनि बताउनुभएको थियो । मधेश रक्त सञ्चार सेवा विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार निर्माण भएको दावी गरिएको छ । कार्यक्रममा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपति डा. रामकेवल साह, स्वास्थ्य निर्देशनालयका निर्देशक विजयकुमार भालगायत सहभागी भएका थिए।
