एसपी रिपोर्टर
जनकपुरधाम, असोज ९ :
नेपाल सरकारको शिक्षा विज्ञान तथा प्रविधी राज्यमन्त्री बोधमाया यादवले सामुदायिक विद्यालयको स्तर सुधार हुन नसक्दा त्यसमा पढ्ने दलित, विपन्न र पिछडिएका समुदायको शिक्षास्तर उकास्न नसिकएको बताएका छन् ।

समाजसेवी गंगाराम यादवले आफनी स्व. आमा गिरिजा देवीको स्मृतीमा धनुषाको हँसपुर नगरपालिकाको वडा नं. ६ टिल्ही स्थित श्री तपसी बाबा माविका करिव १२ सय विद्यार्थीका लागि आयोजना गरेको पोशाक वितरण तथा शिक्षक सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री यादवले आफु शहिद र त्यसमा पनि शिक्षकको छोरी रहेकोले देशको शिक्षा स्तर उकास्न सक्दो प्रयास गर्ने बताइन ।

उनले अहिले विद्यालयमा दान गर्ने दाताहरु आफनो आमाबाबु सहित परिवारजनको नाममा स्कुल माग्ने गरेकोमा समाजसेवी यादवले एक साधु तपसी बाबाको नाममा विद्यालय स्थापना गरेर स्थानियका लागि ठुलो गुण लगाएको बताइन । कार्यक्रममा समाजसेवी तथा विद्यालयका संस्थापक यादवले आफुले दशकौ पहिलेको समयमा निजि लगानीमा विद्यालयमा विद्यार्थी तान्न नास्तमा हलुवा वितरण गरेको स्मरण गर्दै दलित, विपन्नहरुको बालबच्चा गाँउमै उच्च शिक्षा पाउने गरि विद्यालयको विकास हुदै गएकोमा खुसी व्यक्त गरेका छन ।

कार्यक्रममा प्रदेश सांसद रामअशिष यादवले सामुदायिक विद्यालयमा पढने वर्ग र समुदायको शिक्षा स्तर उकास्न सामुदायिक विद्यालयको विकास अति आवश्यक रहेको बताए । हँसपुर नगरपालिकाका प्रमुख प्रदिप यादवले भौतीक संरचना नभएकाले पढाई हुन सकेन भन्नु शिक्षकहरुको गल्ती रहेको बताए ।

जस्ताको भवनमै पढेर पनि विद्वानहरु भएको भन्दै उनले वाहाना बनाएर नहुने बताए । वडा अध्यक्ष सुरेन्द्र कुमार मण्डलाको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व शिक्षक अगुवा लालबाबु हाती, कारी यादव सहितकाले विद्यालयको स्थापना र विकासमा समाजसेवी यादवको भुमिकाको प्रशंसा गरेका थिए ।