एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २४ : मधेशकी छोरी भएर प्रहरी अतिरिक्त महानिरीक्षक बन्न सफल पूजा सिंहले प्रहरीहरूलाई कर्तव्यनिष्ट भएर सेवा प्रवाह गर्न निर्देशन दिनुभएको छ । जनकपुरधामस्थित जिलोमाइलमा शुक्रबार धनुषा जिल्ला ट्राफिक प्रहरी कार्यालयको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा एआईजी सिंहले यस्तो निर्देशन दिनुभएको हो ।
उहाँले आफ्नो जिम्मेवारी राम्ररी निर्वाह नगर्ने र प्रहरी संगठनमा आँच आउने किसिमका काम गर्ने प्रहरीहरूलाई कारबाही गर्ने पनि चेतावनी दिनुभयो । एआईजी सिंहले छोरी मानिसले कुनै पनि काम गर्न सक्ने पनि बताउनुभयो । उहाँले आफूले प्रहरी सेवामा जाने अठोट गरेपछि विभिन्न किसिमका आरोह अवरोहको सामना गर्नुपरेको विगत सम्झिँदै सबैको सहयोग, साथ र आफ्नो परिश्रमबाट यो ओहोदासम्म पुग्न सकेको बताउनुभयो ।

एआईजी सिंहले बाल्यकालमा जनकपुरधामा विताएका पलहरूलाई सम्झिँदै अग्रज, गुरु तथा साथीहरूप्रति आभार व्यक्त गर्नुभएको थियो । उहाँले जानकी माताप्रति पनि आभार व्यक्त गर्नुभयो । सिंहले नयाँ ट्राफिक भवन निर्माणले प्रहरीहरूमा कामप्रति थप उर्जा प्राप्त हुने पनि विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा जनकपुरधाममा उपमेयर किशोरी साह, कार्यक्रममा प्रहरी नायव महानिरीक्षक मसाउद आलम खाँ, धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेलगायत उपस्थिति थिए । शुक्रबार नै धनुषाको बटेश्वरस्थित प्रहरी चौकीको नवनिर्मित भवनको उद्घाटन गरिएको थियो ।




